सुर्खेत- सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.बीच छुट प्रदान गर्ने सम्झौता भएको छ।
सुर्खेत उद्योग वाणिज्य संघमा आवद्ध रहेका सदस्य, उनीहरुका परिवार तथा फर्म एवं पसलमा कार्यरत कर्मचारीहरुलाई सुर्खेत रहेको कर्णाली केयर हस्पिटल ले उपचारमा छुट प्रदान गर्ने सम्झौता गरेको हो।
छुट सम्झौता पत्रमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेल र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीको तर्फबाट निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम हस्पिटलले ल्याब, सीटी स्क्यान, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टल, आँखा उपचार, सामान्य बेड र एम्बुलेन्स सेवामा १० प्रतिशत छुट दिने भएको छ। यसैगरी इको, इण्डोस्कोपी, आइसीयु र अपरेशन शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ।
अन्य छुट सुविधामा सामान्यखालको क्याबिनमा २० तथा डिलक्स क्याविनमा ३० प्रतिशत छुट तथा होलबडी चेकअपमा २५ देखि ३५ प्रतिशत छुट दिइने सम्झौता भएको छ। कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक दीपक गौतमले अस्पतालमा अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिबाट सेवा प्रवाह गरिरहेको अस्पतालले सुर्खेत उद्योग वाणिज्य संघसंगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिवद्धता जनाएका छन्।