काठमाडौं- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा २२ वर्षीया गर्भवतीको मुटुको जटिल प्रकारको दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ।
मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा नगरकोट निवासी ३५ हप्ताकी गर्भवतीको मुटुबाट निस्किने नशा फुटेको जटिल अवस्थाको दुर्लभ शल्यक्रिया सम्पन्न भएको हो।
'यस प्रकारको शल्यक्रिया हामीले दोस्रो पटक गरेका हौं, ६ वर्ष अगाडि पनि यस्तै प्रकृतिको शल्यक्रिया हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौं', स्वास्थ्यखबरसँगको कुराकानीमा डा भट्टराई भने, 'अहिले उनलाई वार्डमा सारिसकेका छौं। केही दिनमा नै डिस्चार्ज हुन्छ।'
सामान्य छाती दुखेको समस्या लिएर आएकी ती महिलाको स्वास्थ्य परीक्षणका क्रममा मुटुबाट निस्किने नशा फुट्न लागेको अवस्था पत्ता लागेकाले तत्कालै शल्यक्रिया गरिएको डा भट्टराईले बताए।
विश्वमा नै जटिल र जोखिमपूर्ण मानिने उक्त शल्यक्रिया गर्नका लागि ६ घन्टा लागेको थियो। डा भट्टाईको नेतृत्वमा भएको उक्त शल्यक्रियाको टिममा डा रवि बराल, डा प्रभात खकुराल, डा सुनिती रावल, डा पूजा पौडेल, डा संयुक्ता राजभण्डारी तथा एनेस्थेसियाको टिममा डा विश्वास प्रधान, डा विभुष श्रेष्ठ र डा अर्जुन गुरुङ रहेका थिए।
मुटुको शल्यक्रिया गर्नुअघि प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको टोलीले पेटको बच्चा निकालेको थियो। अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिए।