काठमाडौं- शान्ति सुरक्षाको असहज अवस्थाका कारण बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूको समस्याका विषयमा अध्ययन समिति गठन भएको छ।
उनीहरुको अध्ययन पूरा गराइदिने प्रयोजनका लागि सम्बन्धित विश्वविद्यालयको स्वीकृतिमा बाँकी रहेको अवधिको इन्टर्नसीप नेपालमा नै गर्ने, गराउने वा अन्य वैकल्पिक व्यवस्था गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी दश दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजनबाबु मरहट्ठाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो।
अध्ययन समितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि (सहसचिव स्तर), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिनिधि (सहसचिव स्तर), परराष्ट्र मन्त्रालय, रजिष्ट्रार नेपाल मेडिकल काउन्सिल, डीन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, डीन,काठमाडौं विश्वविद्यालय, स्कूल अफ मेडिकल साइन्सेस र कार्यकारी निर्देशक, त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र रहनेछन्।
सदस्य सचिवमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रहनेछन्। समितिले बंगलादेश स्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूको विवरण तयार गरी हालको अवस्था र समस्या पहिचान गर्ने, बंगलादेश स्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीमध्ये इन्टर्नसीपको चरणमा रहेका विद्यार्थीहरूलाई नेपालमा नै बाँकी रहेको अवधिको इन्टर्नसीप गर्ने, गराउने सम्बन्धमा वा अन्य वैकल्पिक व्यवस्था सिफारिस गर्ने छ।
यसैगरी परराष्ट्र मन्त्रालय मार्फत बंगलादेश सरकार, सम्बन्धित विश्वविद्यालय तथा सरोकारका निकाय तथा पक्षहरू बीच समस्या समाधानका लागि पहल तथा समन्वय गर्ने र इन्टर्नसीप सम्बन्धी समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने समितिलाई जिम्मेवारी दिइएको छ।