काठमाडौं- नसर्ने रोगविरुद्ध क्रियाशिल व्यक्ति तथा संस्थाहरुकोे राष्ट्रिय सञ्जाल नेपाल एनसीडी एलायन्सले आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न ८ समूहमा विषयगत उपसमिति गठन गरेको छ।
एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले विषयगत उपसमिति गठन गरेको हो। एलायन्सका सचिव किशोरकुमार प्रधानांङ्गका अनुसार तोकिएको डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल उपसमितिमा वरिष्ठ मुटु विशेषज्ञ डा प्रेमराज बैद्यलाई संयोजक तोकिएको छ।
यस्तै इन्भाइरोमेन्ट पोल्युसन एण्ड क्लाइमेट चेन्ज उपसमितिमा डा मनिता प्याकुरेललाई संयोजक तोकिएको छ।
यसैगरी टोवाको एण्ड अल्कोहल कन्ट्रोल उपसमितिको संयोजकको जिम्मेवारी एलायन्सका सह अध्यक्ष समेत रहेका शान्तलाल मुल्मीलाई दिइएको छ। सदस्यमा रामनाथ मैनाली रहेका छन्।
यस्तै रिसोर्स मोविलाइजेशन उपसमितिमा शिब श्रेष्ठ संयोजक तोकिएका छन्। सो समितिलाई अध्यक्ष डा प्रकाशराज रेग्मी र उपाध्यक्ष डा अभिनव वैद्यले सघाउने छन्।
यस्तै रिसर्च एण्ड पब्लिकेशनको संयोजकमा डा प्रज्वल प्याकुरेललाई तोकिएको छ। डा गम्भीर श्रेष्ठले पनि सो उपसमितिलाई सघाउने छन्।
यसैगरी फिजिकल एक्टिभिटी एण्ड योगा उपसमितिमा संयोजकमा महेन्द्र रावललाई तोकिएको छ। सो समितिको सदस्यहरुमा महेन्द्र रावल, सोनीबाबा प्रधान र विष्णुप्रसाद सिग्देल रहेका छन्।
यसैगरी फुड एण्ड न्युट्रेशन उपसमितिको संयोजकमा आलोक श्रेष्ठ तोकिएका छन्। यस्तै मिडिया एण्ड पब्लिकेशन उपसमितिमा रामप्रसाद न्यौपानेलाई संयोजक तोकिएको छ।
बैठकले आगामी २२ भदौमा एलायन्सको साधारणसभा तोकेको छ भने नयाँ कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गर्दै लैजाने निर्णय समेत गरेको छ। एलायन्सका अध्यक्ष रेग्मीले भयावहरुपमा बढ्दै गएको नसर्ने रोगविरुद्धका कामहरुलाई प्रभावकारी ढंगले अघि बढाउन पदाधिकारी तथा सदस्यहरुलाई थप जिम्मेवारी दिइएको बताए। उनले नेपाल एनसीडी एलायन्स र यसले गरेका कामबाट छोटो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान बनाउन सफल भएको बताए।
एलायन्सका सह अध्यक्ष मुल्मीले नसर्ने रोगविरुद्ध सरकार, सिभिल सोसाइटी, यससंग सरोकारवाला सम्पूर्ण पक्ष एक ठाउँमा उभिएर काम गर्नु पर्ने अवस्था आएको बताए। बैठकमा एलायन्सका उपाध्यक्ष डा वैद्यले साउथ इस्ट एशिया रिजनल एनसीडी एलायन्सको आयोजनामा चार दिन पछि सुरु लागेको प्रथम एसइएआर एनसीडीज कन्फ्रेन्स र त्यसको अन्तिम तयारीबारेमा जानकारी गराएका थिए।