टीकापुर (कैलाली)- नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ। केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो।
केन्द्रमा १८ पिन्ट रगत बाँकी रहेको भन्दै २१ पिन्ट अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको र २३ पिन्ट रगत म्याद गएर खेर गएको रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले जानकारी दिए। उनका अनुसार वितरण भएको रगतमध्ये दुई हजार एक सय ८७ पिन्ट टीकापुर अस्पतालमा र बाँकी यहाँका निजी अस्पतालमा खपत भएको छ। सबैभन्दा बढी नौ सय २२ पिन्ट ‘बी’ पोजेटिभ र सबैभन्दा कम तीन पिन्ट ‘एबी’ नेगेटिभ रगत वितरण गरिएको छ।
रेडक्रसले विभिन्न सङ्घसंस्था, विद्यालय, प्रहरी तथा समूहसँग रक्तदान कार्यक्रममार्फत रगत सङ्कलन गरेको विष्टको भनाइ छ। टीकापुर अस्पतालमा दैनिक शल्यक्रिया हुन थालेपछि रगतको माग बढ्दै गएको छ।