काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालय अन्तर्गतको तीन तहको विषयगत समितिको बैठक राखेका छन्। स्वास्थ्य मन्त्रीको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सदस्य रहने विषयगत समिति रहने व्यवस्था गरिएको छ। पहिलोपटक उक्त समितिको बैठक बसेको हो।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा १ मा उक्त व्यवस्था भएपनि हालसम्म बैठक बस्न सकेको थिएन। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तिनवटै तहको प्रभावकारी भूमिका हुने महशुस गरेपछि मन्त्री पौडेलले उक्त बैठक बोलाएका हुन्।
स्वास्थ्य मन्त्रालयमा जारी बैठकमा मन्त्री पौडेलले सबै सरकारले एउटै नागरिकलाई सेवा दिने भएकाले समन्वय जरुरी भएको बताए। बैठकको सुरुवात गर्दै मन्त्री पौडेलले भने, 'संविधान प्रदत्त अधिकारभित्र रहेर हामीले समन्वय गर्नुपर्नेछ । हामीले सेवा दिन खोजेको एउटै नागरिकलाई हो, फरक-फरकलाई होइन । सेवा उपलब्ध गराउन खोजेका नागरिकलाई कसरी प्रभावकारी सेवा प्रदान गर्न सक्छौं ? छलफल गरेर निष्कर्ष निकाल्न जरुरी छ।'
उनले नेपालकव स्वास्थ्य स्थिति जटिल रहेको उल्लेख गरे। संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकेको विषयमै प्रश्न रहेको बताउँदै तिनै तहका सरकारको समन्वय जरुरी रहेको जोड दिए।
उनले थपे, 'राज्यको कोषको अवस्था मजबुत छैन । तत्काल जनशक्ति वृद्धि गर्न सक्ने अवस्था नहुन पनि सक्छ । आजै पूर्वाधार बन्दैन । उपकरण सवै ठाउँमा पर्याप्त छैन। हामीसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर स्वास्थ्य सेवा दिने विषयमा हामीले छलफल गर्नुपर्छ।'
उनले स्वास्थ्य नीति पनि समसापेक्ष बनाउन जरुरी रहेको उल्लेख गरे। 'तपाईंहरुले आफ्नो क्षेत्रमा काम गर्ने क्रममा समन्वय कहाँ आवश्यक छ भनेर महशुस गर्नुभएको छ। पूर्वाधार, जनशक्ति र उपकरणका विषयमा कसरी एकीकृत ढंगले काम गर्न सकिन्छ भन्न कुराको निष्कर्ष यस्तै बैठक बसेर निकाल्नुपर्छ।'
बैठकमा सवै प्रदेशका स्वास्थ्य मन्त्री र सामाजिक विकास मन्त्री, सचिव वा प्रतिनिधिसहित ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य सहभागी छिन्।
बैठकमा स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि तीन तहको सरकारबीच कसरी सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने, डेंगु लगायतका महामारीमा कसरी काम गर्ने, जनशक्ति, औषधि, स्वास्थ्य क्षेत्रमा रहेको १६औं योजना र दिगो विकास लक्ष्यका विषयहरुमा छलफल भइरहेको छ।