काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले मंकीपक्स संक्रमण नेपालमा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाउनुपर्ने बताएकी छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै विश्व स्वास्थ्य संगठनले मंकीपक्स संक्रमणका कारण आकस्मिक स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गर्दाे समेत त्यसको तयारीमा सरकारको ध्यान जान नसकेको बताएकी हुन्।
'पाकिस्तानमा उक्त भाइरस देखिसकेको अवस्थामा छिमेकी मुलुक भारतले उच्च सतर्कता अपनाइसकेको छ','नेपालले तयारी नगरेमा कंगोको हालको अवस्थामा जस्तै भोग्नु पर्ने हुन्छ,' उनले भनिन्।
विमानस्थल तथा नाका प्रवेशका क्रममा मंकीपक्सको लक्षण देखा परेको वा नपरेको जानकारी पाउनका फारमको व्यवस्था गरी आगमनको रेकर्ड पनि राख्नुपर्ने उनको धारणा थियो। डेंगु संक्रमणको तथा मंकीपक्सको लक्षण मिल्दोजुल्दो हुने भएकोले स्वास्थ्य मन्त्रालयमार्फत् जनचेतना अगाडि बढाउनुपर्ने उनको सुझाव छ।