काठमाडौं– तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ।
उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ।
दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए।
उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो।
पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो।