काठमाडौं– तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनाका गम्भीर घाइते ११ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।
उनीहरुलाई इमरजेन्सी वार्डमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार थप चार जना घाइतेलाई उपचारका लागि ल्याइँदैछ।
'घाइतेहरुको आकस्मिक कक्षमा उपचार भइरहेको छ', उनले भने, 'केहीलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने छ।'
शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा १५ जनाको अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। दुर्घटनाका घाइते एकजनालाई आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एकजना बालकलाई भरतपुर पठाइएको जानकारी दिए।
बसमा ४३ जना यात्रु रहेको पुष्टि भएको छ। दुर्घटनामा फेला नपरेका यात्रुहरूको खोजि जारी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ।