काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दीक्षान्त समारोह गर्ने भएको छ। प्रतिष्ठानले पहिलो पटक दीक्षान्त समारोह गर्न लागेको हो।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २३ गते पहिलो दीक्षान्त समारोह हुन लागेको हो।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षितका लागि योग्य छन्।
दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसंगै सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पनि सहभागिता हुनेछ।
दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवनको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको छ।
यस्तै, तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्रको उद्घाटन र विश्व स्वास्थ्य संगठनको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर)को हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको उपकुलपति डा रावलले जानकारी दिए।
प्रतिष्ठानबाट अहिलेसम्म स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा दुई ब्याचको १३ जना र स्नातकोत्तर तर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ गरी ५ जना सहित कुल ५६ जना उत्तीर्ण भएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला विसं २०६८ साल देखि सञ्चालनमा आएको हो। प्रतिष्ठान सञ्चालनमा आएयता दीक्षान्त समारोह भएको थिएन।