काठमाडौं- मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी मंगलबारसम्म दुई सय आठजनाको मृत्यु भएको छ।
बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेस प्रदेशमा आठ, वाग्मती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय आठजनाको मृत्यु भएको हो।
साथै काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेस १२, बागमतीमा ३१, गण्डकीमा ४७, लुम्बिनीमा २५, कर्णालीमा ६७ र सुदूरपश्प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७१ जना घाइते भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा एक सय एकजना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस एक, वाग्मतीमा ४४, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ५३ जना बेपत्ता भएका छन्।
बाढीको कारण जम्मा चार सय आठ घर डुबानमा परेका छन्। तीन सय ६४ वटा घर, एक सय २६ गोठ, ५२ पुल, छवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। नौ सय ७२ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्घटनाबाट छ हजार ४९ घरपरिवार विस्थापित भएका छन्। रासस