काठमाडौं- गण्डकी मेडिकल कलेजले ४ अर्ब लगानीमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउने भएको छ।
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले पोखरा २७ रिठ्ठेपानीमा अस्पताल र शैक्षिक भवन निर्माण गर्न सुरु गरेको हो।
बुधबार भवन शिलान्यास गर्दै अध्यक्ष खुमाप्रसाद अर्यालले गण्डकी मेडिकल कलेज गण्डकी क्षेत्रको अग्रणी र जिम्मेवार चिकित्सा शास्त्र सेवा प्रदायक संस्था रहेको बताए।
दूर दराजका बिरामीले जटिल रोगको उपचारका लागि काठमाडौँ र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गण्डकी मेडिकल कलेजले गरेको भन्दै उनले यसलाई अझै विस्तार गर्ने बताए।
पोखरामा बढ्दै गएको जनघनत्वलाई मध्यनजर गरेर लेखनाथलाई मेडिकल कलेजको हब बनाउने गरी टिचिङ अस्पताल नयाँबजारबाट स्थानान्तरण गर्न लागेको उनले बताए। हाल ५५० बेडको स्वीकृति रहेको अस्पतालमा शय्या थप गर्न प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए। भवन निर्माणमा करिब ३ अर्ब लागत अनुमान गरिएको छ। अस्पताल भवन बनेपछि नयाँ बजारमा रहेको हालको अस्पताललाई सिटी अस्पतालका रूपमा मात्रै सञ्चालन गरिने प्रशासनले जनाएको छ।
सोही ठाउँ नजिकै अत्याधुनिक शैक्षिक भवन पनि शिलान्यास भएको छ। भवन १ अर्ब लागतमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।