काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर -८ जयबागेश्वरिमा रहेको नेपाल भारत मैत्री अस्पतालले अलपत्र अवस्थामा रहेकी असहाय बिरामीको नि:शुल्क उपचार गरेको छ। मानव कल्याण समाज बनकालीमा आश्रय लिएर बसिरहेको राममाया कपाली लामो समयदेखि बिरामी थिइन्।
कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेकी उनी पक्षघातबाट पीडित थिइन्। उनलाई सहायत गर्ने मानिसमेत नहुँदा पिठ्युमा घाउ भइसकेको थियो। घाउमा संक्रमण समेत भएको अवस्थामा उनी भेटिएको अस्पतालले जनाएको छ।
मानव कल्याण समाजमा जोखिमयुक्त भवनमा अशक्त लाई राखिएको विषयमा समाचार संकलनका लागि पुगेका एभिन्युजका पत्रकार राजेन्द्र बस्नेतले कपालीको अवस्थाका बारेमा समेत समाचार प्रकाशमा ल्याएका थिए।
सोही समाचारका आधारमा अस्पतालले उद्धार गर्दै नि:शुल्क उपचार सेवा दिएको हो। अस्पतालले उनको दुईटा मुख्य शल्यक्रियाका साथै ८ महिना भन्दा बढी समय आइसियुमा राखेर उपचार गरेको जनाएको छ। एक वर्षमा ८० लाख भन्दा बढीको उपचार सेवा दिएको अस्पतालको भनाइ छ।
वडा र अस्पतालले संयुक्त कार्यक्रम गरी उनको उद्धारमा र उपचारमा संलग्नलाई सम्मान गरेको छ।अझै लामो समय बेडमा आराम गर्नुपर्ने भएकोले वडा कार्यालय, प्रहरी र परिवारको समन्वयमा काठमाडौ महानगरपालिका वडा नम्बर -८ मै रहेको शान्ति सेवा गृहमा पठाइएको छ।