मुगु- मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सूचकमा सुधार भएको छ। यस वर्षका स्वास्थ्य सुचकमा मुगु जिल्लाकै अग्र स्थान लिँदै वार्षिक स्वास्थ्य सुचकको समिक्षाको अवसरमा प्रथम पालिका बनेको छ।
मुगुमकार्मारोङ गाउँपालिका २०७५/७६ सालमा कर्णाली प्रदेशकै ७८ औँ पालिकाको स्थानमा थियो। बिगतका वर्षहरुका कार्ययोजना र स्थानीय सरकारको प्रभावकारी कार्य क्षमताले विभिन्न सुचकमा फड्को मारेको हो।
अशिक्षा, गरिबी, सडक अभावका बावजुत स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य सपादन भएकोमा आगामी वर्षहरुमा सुचकलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए।
उत्कृष्ट कार्ययोजना र रणनीति, श्रोत साधन र जनशक्तिको परिचालन, सबै स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक भएको उनको भनाइ छ।
गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक बलिराज बुढाले बाल मृत्युमा कमी, मातृ मृत्युमा कमी, सरुवा तथा नसर्ने रोगको उपचार रोकथाम, विद्यालय स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, महामारी तथा विपतमा उचित उपचार र रेस्क्यु जस्ता कार्यक्रमहरु दीर्घकालिन स्वास्थ्य योजनामा थप गर्न आवश्यक रहेको बताए।
गाउँपालिकाले यस आर्थिक वर्ष चिकित्सक , औषधि , स्वास्थ्य कर्मचारी र स्वास्थ्य केही मुख्य कार्यका लागि १ करोड बजेट छुट्याएको छ।
२०७६/७७ साल यता पालिकामा स्थानीय सरकारको पहलमा संघ तथा प्रदेश सरकारबाट स्वास्थ्य संस्था प्रत्येक वडामा स्थापना भए पश्चात सबै जनताले लक्षित स्वास्थ्य सेवा पाउन थालेका छन्।