भारतमा कडा कानुनी व्यवस्था र बलात्कारीलाई मृत्युदण्डको सजाय भए पनि लैङ्गिक हिंसाका घटनाहरू निरन्तर रूपमा बढिरहेका छन्। पश्चिम बङ्गालमा भएको पछिल्लो जघन्य अपराध, जसमा एक चिकित्सकलाई बलात्कारपछि हत्या गरिएको थियो । यस समस्याको गम्भीरतालाई पुनः उजागर गरेको छ। यो घटनाले ती चिकित्सकको परिवार र समुदायमा मात्रै होइन, सम्पूर्ण भारतभरका चिकित्सकहरूमा पनि गहिरो असर पारेको छ। यस घटनापछि देशभरका चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् र उनीहरूले यस घटनालाई चिकित्सकहरूलाई लक्षित गरी घटेको एक अपराधका रुपमा प्रस्तुत गरेको देखिन्छ। बलात्कार र हिंसात्मक हमलाहरू बारम्बार हुनुले कानूनी व्यवस्था र मृत्युदण्डको सजायको प्रभावकारितामा प्रश्न उठाएको छ। बलात्कार जस्ता अपराधहरू केवल कानूनी दायराभित्रै समाधान हुन सक्ने समस्या होइनन् बरु ती समाजमा जरा गाडेर बसेका मानसिक स्वास्थ्य समस्याहरूको परिणाम हुन्।
बलात्कार र महिला विरुद्धको हिंसाका विभिन्न मनोवैज्ञानिक कारण
भारत जस्ता देशहरूमा बलात्कार र महिला विरुद्ध हुने हिंसाका विभिन्न कारणहरूलाई हामीले फरक-फरक रूपमा छुट्याएर बुझ्नुपर्छ। ती कारणहरूमा: विषाक्त पुरुषत्व (Toxic Masculinity): समाजमा परम्परागत रूपमा पुरुषहरूलाई बलियो, प्रभुत्वशाली र आक्रामक हुनुपर्छ भन्ने धारणा जरो गाडेर बसेको छ। यस्तो विषाक्त पुरुषत्वले पुरुषलाई महिलामाथि आफ्नो शक्ति प्रदर्शन गर्न, तिनीहरूमाथि प्रभुत्व जमाउन र हिंसात्मक व्यवहार गर्न प्रेरित गर्छ। यसले महिलालाई एक साधारण वस्तुको रूपमा हेर्ने संस्कारलाई बढावा दिन्छ। लैङ्गिक असमानता (Gender Inequality): भारतमा लामो समयदेखि चल्दै आएको लैङ्गिक असमानताले महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिने परम्परालाई निरन्तरता दिएको छ। महिलालाई शिक्षा, रोजगार र समाजमा बराबरीको अवसर नदिँदा उनीहरूको सामाजिक स्थिति कमजोर भएको छ, जसले उनीहरूलाई हिंसाको शिकार बनाउँछ।
सामूहिक मानसिकता (Mob Mentality): समूहमा रहेका व्यक्तिहरू व्यक्तिगत रूपमा गर्नेभन्दा बढी हिंसात्मक कार्यमा संलग्न हुन सक्छन्। सामूहिक बलात्कारमा, व्यक्तिले आफ्नो व्यक्तिगत जिम्मेवारी बिर्सन्छन् र समूहको दबाबमा हिंसात्मक क्रियाकलापमा संलग्न हुन्छन्। मादक पदार्थको दुरुपयोग (Substance Abuse): मदिरा, लागुऔषध जस्ता मादक पदार्थको दुरुपयोगले व्यक्ति आफ्नो विवेक गुमाउन सक्छ, जसले हिंसात्मक व्यवहारलाई उत्प्रेरित गर्छ। मादक पदार्थको असरमा रहेका व्यक्तिहरूले आफ्नो कार्यको परिणामबारे सोच्न सक्दैनन्, जसले चरम हिंसाको जन्म दिन्छ।
कानूनी व्यवस्था र मृत्युदण्डको असफलता (Failure of Legal Framework and Capital Punishment): भारतमा बलात्कारीहरूलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था छ, यद्यपि यस्ता घटनाहरू निरन्तर भइरहेका छन्। यसले कानूनी सजाय मात्रले यस्ता अपराधहरूलाई रोक्न नसक्ने कुरालाई स्पष्ट पार्छ। कानूनी सजायको डरले मात्र हिंसाको जरा गाडेर बसेका मानसिक स्वास्थ्य समस्याहरूलाई समाधान गर्न सक्दैन।
समाधान: विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम
यी गम्भीर समस्याहरूलाई समाधान गर्न कानूनी सजाय मात्र पर्याप्त छैन। समाजको जरा गाडेर बसेका मानसिक स्वास्थ्य समस्याहरूलाई समाधान गर्न विद्यालयस्तरमै मानसिक स्वास्थ्य कार्यक्रमहरू लागू गर्नु अत्यावश्यक छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा कार्यक्रमको उद्देश्य बालबालिकालाई मानसिक, सामाजिक, र भावनात्मक सिपहरू प्रदान गर्नु हो, जसले उनीहरूलाई स्वस्थ मानसिकता र सकारात्मक व्यवहार विकास गर्न मद्दत गर्छ। यस्ता कार्यक्रमहरूले बालबालिकालाई सानैदेखि नै लैङ्गिक समानता, भावनात्मक साक्षरता, र तनाव व्यवस्थापन जस्ता महत्वपूर्ण सीपहरू सिकाउन सक्छ जसबाट भविष्यमा हुने हिंसात्मक व्यवहारलाई कम गर्न सकिन्छ।
विद्यालय मानसिक स्वास्थ्य शिक्षा कार्यक्रममा समावेश गरिनु पर्ने प्रमुख पक्षहरु निम्न बमोजिम छन्:
१. भावनात्मक साक्षरता (Emotional Literacy): बालबालिकालाई आफ्ना भावना पहिचान गर्न, तिनलाई स्वस्थ तरिकाले व्यक्त गर्न र अन्य व्यक्तिहरूका भावनालाई बुझ्न सिकाउनु आवश्यक छ। यसले उनीहरूलाई आफ्ना भावनात्मक समस्याहरूलाई नियन्त्रणमा राख्न मद्दत गर्छ र हिंसात्मक व्यवहारलाई घटाउँछ।
२. तनाव व्यवस्थापन (Stress Management): बालबालिकालाई तनावको स्रोत, चिन्हहरू, र त्यसको असरबारे सचेत गराउँदै, त्यसलाई व्यवस्थापन गर्नका लागि ध्यान, शारीरिक व्यायाम, र श्वासप्रश्वास अभ्यासहरू जस्ता सरल तरिकाहरू सिकाइन्छ। यसले उनीहरूको मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ।
३. लैङ्गिक समानता (Gender Equality): लैङ्गिक समानता र सम्मानको महत्त्वबारे शिक्षा दिनु, बाल्यकालमै लैङ्गिक विभेदका विरुद्ध सचेतना फैलाउन महत्त्वपूर्ण छ। यसले भविष्यमा लैङ्गिक विभेद र हिंसात्मक व्यवहारलाई रोक्न मद्दत गर्छ।
४. आत्मरक्षा र सहमति (Self-Defense and Consent): बालबालिकालाई आत्मरक्षाका सीपहरू सिकाउनु र सहमतिको महत्त्वबारे सचेतना दिनु आवश्यक छ। यसले उनीहरूलाई आफ्नो सुरक्षाका लागि सजग बनाउँछ र हिंसात्मक घटनाबाट बच्न सहयोग गर्छ।
५. मादक पदार्थको दुरुपयोगको सचेतना (Substance Abuse Awareness): मादक पदार्थहरूको असर र त्यसको दुरुपयोगबाट हुने क्षतिबारे बालबालिकालाई जानकारी गराउनु आवश्यक छ। यसले उनीहरूलाई भविष्यमा मादक पदार्थको दुरुपयोगबाट बच्न सहयोग पुर्याउँछ।
भारतमा देखिएका हिंसात्मक घटनाहरूले हामीलाई चेतावनी दिएको छ कि यदि हामीले हाम्रो बालबालिकालाई उचित शिक्षा र मानसिक स्वास्थ्य सेवाहरू प्रदान गर्न सकेनौं भने हिंसात्मक व्यवहारमा वृद्धि हुने सम्भावना छ।
राष्ट्रिय स्वास्थ्य नीति समेतले मानसिक स्वास्थ्य कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको सन्दर्भका साथै भारतमा व्यापक बन्दै गरेको महिला हिंसाका घटनाबाट पाठ सिक्दै नेपालमा ढिला नगरी स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयसँगको सहकार्यमा तत्काल विद्यालय मानसिक स्वास्थ्य शिक्षा कार्यक्रम लागू गर्न मनासिब देखिन्छ ।