काठमाडौं- नसर्ने रोगविरुद्ध काम गर्दै आएका व्यक्ति तथा संस्थाहरुको साझा मञ्च नेपाल एनसीडी एलायन्सको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीको अध्यक्षतामा शनिबार लतितपुरको पुल्चोकस्थित नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभाले महासचिव किशोरकुमार प्रधानाङ्गले पेश गरेकोे गतवर्ष कार्यप्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष उत्तमा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । साथै आगामी दिनमा एलायन्सले गठन गरेको विभिन्न नौवटा उप समितिले तयार गर्ने कार्ययोजनाको आधारमा नसर्ने न्युनिकरणका लागि विभिन्न गतिविधि अघि बाउने निर्णय गरेको छ।
साधारण सभामा बोल्दै एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोगविरुद्धको अभियानलाई थप सशक्त रुपमा अघि बढाउन विभिन्न उपसमिति गठन गरिएको र यसले बार्षिक कार्ययोजना तयार गरी नियमित रुपमा गतिविधि अघि बढाउने बताए । सन् २०१३ सालमा लुज नेटवर्कको रुपमा पाँच जना व्यक्ति मिलेर सुरु भएको सञ्जालले अहिले व्यापकता पाउँदै गएको बताए । उनले पछिल्लो समय भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि त्यसको ज्वलन्त उदाहरण भएको बताए।
यस्तै एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोग न्युनिकरणका लागि यसबारेमा जनचेतना अभिबृद्धि गर्ने, नीतिगत बहस छेड्ने मात्रै नभई यसबाट पीडित व्यक्तिहरुको आवाज सुन्ने र सम्बन्धित निकायमा पुर्याउने काम समेत गरेको बताए।
कार्यक्रममा उपाध्यक्ष डा अभिनव वैद्यले भच्युल रुपमा सम्पन्न साउथ ईष्ट एशिया रिजनल एनसीडी एलायन्स कन्फ्रेन्सको प्रतिवेदन साथै नयाँ सीड ग्रान्ट प्रोजेक्ट सहित आगामी योजनाबारेमा प्रस्तुति दिएका थिए।
सन् २०१३ सालमा लुज फोरमको रुपमा स्थापित एलायन्स अहिले गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको छ । अहिले यो संस्थामा नसर्ने रोगविरुद्ध क्रियाशिल विभिन्न ३९ वटा संस्था आवद्ध रहेको छ।