काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोइजन सूचना केन्द्रले विष सेवन गरेकाहरुलाई दिनुपर्ने परामर्शको सरकारी स्तरमा राम्रो सुरुवात भएको बताएका छन्।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको ‘पोइजन सूचना केन्द्र’को पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “अस्पतालको यो सेवा निकै राम्रो छ। यो केन्द्र सरकारको प्राथमिकतामा छ।”
उनले उक्त केन्द्रले देशभरका स्वास्थ्यकर्मीलाई विषसम्बन्धी जटिल बिरामीको व्यवस्थापनमा परामर्श तथा सुझाव प्रदानमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्रालय नीतिगत व्यवस्था र प्राविधिक सहकार्यका निम्ति तयार रहेको बताए।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा दिव्या सिंह शाहले ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरु गरिएको यो केन्द्र अहिले राम्रोसँग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरिन्।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रका प्रमुख डा राकेश घिमिरेले एक वर्षमा संस्थाले दुई सय ७० वटा घटनामा समन्वय गरेको जानकारी गराए। उनले भने, “विष सेवन गरी भएका आत्महत्याको दरमा कमी ल्याउन केन्द्रले भूमिका निर्वाह गरिरहेको छ। यहाँ आउने बिरामीहरु जटिल प्रकृतिका हुने गरेका छन्।”
नेपालमा भएका आत्महत्यामध्ये दोस्रो प्रमुख कारण विष सेवन रहेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार १८ दशमलव २० प्रतिशतको मृत्यु विष सेवनबाट हुने गरेको छ। त्यसमा पनि विषादीको प्रयोग गरेर मर्नेको सङ्ख्या उच्च छ।
प्रमुख डा घिमिरेले भने, “हामीसँग विष सेवनपछि जटिलता र जोखिमबारे आकलन गर्न सक्ने विज्ञको टिम पनि छ। यसको देशभर सञ्जालका साथै अन्तर्राष्ट्रिय विज्ञसँगको समन्वय पनि भइरहेको छ।”
यस केन्द्रले विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाउने काम गरिरहेको छ। विष सेवनपछिको उपचारका विषयमा कुनै जानकारी आवश्यक परेमा सेन्टसरमा २४ सै घण्टा ०१–४५०२०११ मा फोन गर्न सकिने जनाइएको छ।