काठमाडौं- सरकारले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा खाने समय घटाएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार सरकारी कार्यालयमा खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको हो।
उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय र मातहतका निकायमा पत्र पठाइसकेको छ।
प्रधामनमन्त्री कार्यालयको पत्र अनुसार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मातहतका अस्पताल र स्वास्थ्य संस्थामा खाजाको नयाँ समय कार्यान्वयनमा ल्याउन पत्र पठाइसकेको छ।
मन्त्रालयका शाखा अधिकृत विश्व बन्धु रेग्मीद्वारा हस्ताक्षरित पत्रमा खाजाको नयाँ समय दिउँसो साढे १ बजेदेखि २ बजेसम्म तोकिएको छ।
सरकारी कार्यालयको खाजा समय घटाइएको विषय आइतबार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेका थिए। कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको उनले जानकारी दिएका थिए।
प्रधानमन्त्री ओलीले खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि अनुरोध गरेका छन्।
'सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ', प्रधानमन्त्री ओलीले लेखका छन्।