काठमाडौं- त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का पूर्व डीन प्राडा गोपाल आचार्यले आफ्नो व्यक्तिगत लगानीमा त्रिवि शिक्षण अस्पतालमा सुविधा सम्पन्न एकेडेमिक हल बनाइदिएका छन्।
आईओएमको परिकल्पनाकारमध्येका एक पूर्व डीन प्राडा आचार्यले एक करोड १० लाख रुपैयाँ बढी खर्चेर एकेडेमिक हल निर्माण गरिदिएका हुन्। डा आचार्यको व्यक्तिगत लगानीमा निर्माण भएको सुविधा सम्पन्न एकेडेमिक हलको बुधबार औपचारिक उद्घाटन भएको छ।
आईओएमकी डीन प्राडा दिव्यासिंह शाहले अस्पताल निर्देशक प्राडा दिनेश काफ्ले र डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनका प्रमुख प्राडा महेशराज सिग्देलको उपस्थितिमा उद्घाटन गरेकी हुन्।
अस्पतालले उक्त हलको नाम ‘प्रोफेसर जीपी आचार्य एकेडेमिक हल’ राखेको छ। नव निर्मित हल १०० सिट क्षमताको छ।
सन् १९७६ मा त्रिवि आईओएमको सेवामामा प्रवेश गरेका आचार्य सन् २००७ मा सेवा निवृत्त भएका थिए। उनी त्रिवि आईओएमका तेस्रो डीन हुन्।
आईओएमको परिकल्पनाकारहरु डा आचार्य, डा मोइन शाह र हेमांग दीक्षितको नाममा आईओएम परिसरमा मोहेगो भवन समेत रहेको छ।