काठमाडौं- काठमाडौंको साँखुमा सञ्चालित सुस्मा कोइराला मेमोरियल अस्पतालले आगोले पोलेको तथा जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ।
काठमाडौंको शङ्खरापुर नगरपालिका–६ साँखुमा विसं २०५४ देखि सञ्चालित सो अस्पतालले आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न लागेको हो।
अस्पतालका मेडिकल डाइरेक्टर डा सन्तोष भण्डारीले देशभरका आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाइ अस्पतालले निःशुल्क उपचार गर्ने जानकारी दिए।
उनका अनुसार अस्पतालले वार्षिक चार सयभन्दा बढी आगोले पोलेका तथा जलनका बिरामीको उपचार गर्दै आएको छ। अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगोले पोलेका एक सयभन्दा बढी बालबालिका वार्षिक सुस्मा कोइराला मेमोरियल अस्पताल आउने गरेका छन्।
यो अस्पताल नेपालकै पहिलो जलनसम्बन्धी उपचार गर्ने अस्पताल हो। अस्पतालले जलनको उपचारका साथै जलन रोकथामसम्बन्धी विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।