काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शय्याको आधारमा होइन, सेवाको आधारमा अस्पतालको वर्गीकरण हुनुपर्ने बताएका छन्। धेरैको सोच नै सैय्यामा केन्द्रीत भएको पाइएको भन्दै उनले सैय्या भन्दा सेवा प्राथमिकता भएको बताएका छन्।
स्वास्थ्य खबर हेल्थ अवार्ड कार्यक्रममा बोल्दै उनले भने, 'अस्पतालको वर्गीकरण शय्याको आधारमा हुने हो कि सेवाका आधारमा ? सवै अस्पतालबाट एउटै खालको सेवा पाउनेगरी चलाउने अभ्यास छ।'
स्वास्थ्यका नीति नियमले फरक खालको अस्पताल बनाउने जोड दिएको उनले बताए। 'अभ्यासमा सवै ठाउँमा एमआरई र सीटीसक्यान राख्नपर्ने कुरा छ। सवैमा सवै खालको उपचार छ।'
उनले स्वास्थ्य प्रणालीको प्रविधिकरण अहिले मुख्य आवश्यकता भएको पनि बताए। प्रविधिकरण एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिए। 'देशको स्वास्थ्य प्रणालीलाई एकै ढंगबाट प्रविधिकरण गरौं,' उनले भने, 'जसले नागरिकलाई सेवा सहज ढंगबाट प्रवाह गर्न सकियोस् । त्यहीबाट प्राप्त तथ्यांकले उपयुक्त नीति निर्माण गर्न सकियोस्।'
सरकारले स्वास्थ्उमा जतिसुकै प्रतिबद्धता व्यक्त गरेपनि, जस्ता संरचना निर्माण गरेपनि सहज सुविधा उपलब्ध गराउन मुश्किल भइरहेको सत्य स्वीकारे। जनताको आकांक्षाअनुसार सेवा दिन नसकिएको र स्वास्थ्य सेवालाई टीका-टीप्पणीरहित बनाउन नसकिएको उल्लेख गरे।
'आम नागरिकले सहज ढंगले सेवा प्राप्त गरेको महशुस गराउने गरी यस क्षेत्रको विकास अघि बढाउनुपर्छ,' उनले भने।
अहिले बढी उपचारात्मक प्रणालीमा छलफल भइरहेको बताए। निरोधात्मकमा जोड दिनुपर्ने धारणा अघि सारे । उनले थपे, 'नागरिक कहिले रोगी हुन्छ र उपचार गरौंला भनेजस्तो देखिएको छ । रोगै लाग्न नदिने कसरी गर्ने ? आधारभूत अस्पताल बनाएको छौं, के हो? अभ्यासमा नमूना आधारभूत अस्पताल बनाउन सकेका छैनौं।'
आफूले अस्पताल सेवा सुविधा सजिलोगरी उपलब्ध गराउनुका साथै नागरिक निरोगी बनाउने कुरामा जोड दिइरहेको बताए।