त्रिशूली (नुवाकोट)- नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा नुवाकोटले नुवाकोट र रसुवाका सातसय भन्दाबढी बिरमीलाई निःशुल्क रगत उपलब्ध गराएको छ।
रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई आवश्यक परिणामको रगत निःशुल्क उपलब्ध गराउने सम्झौता अनुसार हालसम्म सात सय ८० जना बिरामीले सेवाको लाभ लिएका हुन्।
विसं २०८० साउन १ गतेदेखि सुरु भएको निःशुल्क सेवाको लागि दुई जिल्लाका पालिकाको सहयोगले सेवा उपलब्ध गराउँदै आएको रेडक्रस नुवाकोट शाखाले जनाएको छ।शाखाका अनुसार नुवाकोट र रसुवावासीलाई कोलनीस्थित केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध हुनेछ भने जिल्ला बाहिर आवश्यक परेमा उपलब्ध गराउन सहजीकरणसहित खरिद शुल्कबापत प्रति युनिट एक हजारका दरले रकम सोधभर्ना (फिर्ता) दिने गरिएको छ। निःशुल्क रगत उपलब्ध गराउन दुई जिल्लाका स्थानीय तहले स्वेच्छिक अनुसार आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन्।
रेडक्रसले दिगो व्यवस्पनको लागि रु एक करोडको अक्षय कोष स्थापनाको लक्ष्य लिएर हाल उक्त कोषमा ५२ लाख भन्दाबढी रकम सङ्कलन भइसकेको छ।केन्द्रलाई रगतलाई निःशुल्क उपलब्ध गराउन भन्दा पनि अहिलेको मुख्य चुनौती सङ्कलनको समस्याको देखिएको छ। नियमित दान गर्ने दाताको घट्दो सङ्ख्या र रगत उपभोग गर्ने बिरामीको बढ्दो क्रमले विगतको तुलनामा रगत सङ्कलनमा कठिनाइ भइरहेको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिए।
‘रक्तदान–जीवन दान’को नारासहित परिवर्तिन समय अनुसार कार्यक्रमकोस्वरुप बदलेर रक्त सङ्कलनलाई भने प्रभावकारी बनाउँदै आएको उनको भनाइ छ।“नियमित दान गर्ने दाता विदेश जानेक्रम बढेको छ। यहाँ बसोबास गर्नेमा सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्याले रगत सङ्कलनमा कठिनाइ बनेको छ।” केन्द्र प्रमुख श्रेष्ठले भने, “दाताहरुमा जनचेतना अभिवृद्धि र सहयोगी सङ्घ सँस्थाको सक्रियताले अहिलेसम्म नुवाकोट र रसुवामा मागअनुसार रगत सङ्कलनमा समस्या देखिएको छैन।”
नुवाकोट रेडक्रसले सङ्कलन गरेको रगत दुई जिल्लालाई प्रयाप्त भएपछि भक्तपुर रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार केन्द्रमा समेत पठाउने गरिएको छ।नुवाकोटमा विसं २०७१ फागुन २५ मा स्थापना भएको रक्तसञ्चार केन्द्रमा हालसम्म छ हजार तीनसय २७ दाताले रक्तदान गरेका छन्। पछिल्लो एक वर्षको अवधिमा दुई सय ११ जना महिलासहित एक हजार तीन सय ६५ दाताले रक्तदान गरेको रक्तसञ्चार केन्द्रको तथ्या¬ङ्क छ।
रेडक्रसको प्राविधिक सहयोगमा एक वर्षमा नुवाकोट र रसुवामा ५२ स्थानमा रक्तदान कार्यक्रम गरिएको छ भने रक्तदान कार्यक्रमलाई अभिवृद्धि गर्न विद्यालयतहमा रक्तसमूहको पहिचान, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल गठन गरेर उनीहरुलाई सक्रिय बनाउन नुवाकोट रेडक्रस तल्लिन छ। अठार वर्ष उमेर पुगेका युवालाई रक्तदान कार्यक्रम सहभागी हुन रेडक्रस सहितको विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा अभियान चलाउँदै आएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिए।
नयाँ रक्तदाताको खोजी, एक पटक दान गरिसकेका दातालाई नियमित बनाउन उत्प्रेरणा जगाउने, धेरै पटक रक्तदान गर्ने दातालाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट सम्मानको कार्यक्रम लगायतका अभियानले रगत सङ्कलनमा उल्लेख्य सफलता हासिल भएको बताइएको छ। रासस