काठमाडौं- संसदीय सुनुवाइ समितिले जर्मनीसहित १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका राजदूतहरुको नाम अनुमोदन गरेको हो।
अनुमोदन हुनेमा जर्मनीका लागि सिफारिस भएका डा शैल रुपाखेती पनि छन्। संसदीय सुनुवाइ समितिले डा रुपाखेतीसहित सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन्।
केही समयअघि भएको छलफलमा डा रुपाखेतीले आफ्ना कार्ययोजनाहरु पेस गरेका थिए। उनले पेस गरेको कार्य योजनामा आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा महत्त्वपूर्ण काम गर्ने जनाएका थिए। उच्चस्तरीय भ्रमण, वैदेशिक सहायता र दुई देशबीचको सम्बन्धलाई थप उचाइमा लैजाने रुपाखेतीको योजना छ।
समितिको निर्णयअनुसार डा रुपाखेतीसिहत चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, भारतका लागि शंकरप्रसाद शर्मा, इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ।
यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ।