चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्याङ्कले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताउनुभयो । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या एक लाख ६६ हजार २०० रहेको थियो ।
यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।
सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको सङ्ख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९७९ रहेको तथ्याङ्क छ।
विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेर एक सय शय्याबाट सुरु भएको अस्पतालमा हाल पाँच सय शय्याबाट सेवा प्रवाह भइरहेको छ।
यसैबीच, अस्पतालले आफ्नो वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाउने जनाएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराउनुहुँदै असोज १० मुख्य कार्यक्रम रहेको जानकारी दिनुभयो । अस्पतालले रक्तदान, ३० वर्षदेखि ५० वर्षसम्मका महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बाल क्यान्सरसम्बन्धी सचेतना, विदेशी विज्ञसहितको गोष्ठी, म्याराथुनलगायत कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको अध्यक्ष डा न्यौपानेले बताए।
---