कलेजो मानिसको शरीरभित्र हुने सबैभन्दा ठूलो अंग हो। यो पेटको दाहिनेतर्फ माथिल्लो भागमा करङपछाडि हुन्छ। कलेजोले शरीरमा सबैभन्दा धेरै काम गर्छ। अन्य अंगले दुई या तीन वटा काम गर्दा यसले एकै पटक ५ सयभन्दा बढी काम गर्छ।
कलेजोको मुख्य काम शरीरमा प्रोटिन बनाउनु हो। यसले हामीले खाने ग्लुकोज तथा प्रोटिन भण्डारण गरेर राख्छ भने शरीरबाट विषाक्त पदार्थ सफा गर्छ। यस्तै, रोगप्रतिरोधी प्रणालीलाई सहयोग गर्ने तथा रगतमा भएको संक्रमणलाई सफा गर्ने काम कलेजोले गर्छ। हरेक हानिकारक पदार्थबाट शरीरलाई बचाउने भएकाले यसलाई शरीरको ‘पिल्लर’ मानिन्छ।
कस्ता समस्या देखा पर्छन् ?
कलेजोमा देखिने समस्या छोटो समयका लागि हुने र दीर्घकालीन रुपमा हुने गरी दुई खालका हुन्छन्। छोटो समयका लागि हुने समस्यालाई ‘एक्युट’ भनिन्छ। आयुर्वेदिक औषधिका कारण अचानक कलेजो सुन्निनु एक्युट समस्या हो। हेपाटाइटिस ए र ईले पनि छोटो समयका लागि असर गर्छन्।
अर्को क्रोनिक समस्या हो। लामो समयसम्म देखिएको समस्याले कलेजोलाई हानी गरेको हुन्छ। जण्डिस हुनु, कलेजो सुन्निुन क्रोनिक समस्या हो। आजकाल धेरै देखिने फ्याटी लिभरको समस्या पनि क्रोनिक हो, जसले कलेजोलाई नै ड्यामेज गराउँछ। हेपाटाइटिस बी र सीले भने दीर्घकालीन रुपमै कलेजोलाई असर गर्छ।
कलेजो बिग्रनुको कारण
कलेजो बिग्रनुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो। छोटो समयको मदिरा सेवनले एक्युट समस्या गराए पनि लामो समय मदिरा सेवन गर्दा क्रोनिक लिभर डिजिज हुन्छ, जसलाई समयमै उपचार नगरिए कलेजो स्थायी रुपमै ड्यामेज हुन्छ, जसलाई लिभर सिरोसिस भनिन्छ।
लिभर सिरोसिसको ९० प्रतिशत समस्या नै मदिरा सेवन हो। युरोप, अमेरिकालगायतका पश्चिमा मुलुकमा भने फ्याटी लिभरको समस्या बढी देखिने गरेको छ। नियमित शारीरिक अभ्यासको कमीका कारण कलेजोमा बोसो जम्छ, जसले बिस्तारै कलेजोमा हानी पुग्छ।
कलेजो रोगका लक्षण
कलेजोमा समस्या आउँदा धेरैजसो पेटको माथिल्लो भागमा दुख्ने, भारी हुने हुन्छ। कसैलाई जण्डिस हुने हुन्छ। कहिलेकाही सिरोसिस वा अन्तिम अवस्थामा पुगेपछि कलेजो ड्यामेज भएको थाहा हुन्छ। कलेजो ड्यामेज भएको अवस्थामा पेटमा पानी जम्ने, बेहोसी हुने, जण्डिस हुने, बान्तामा रगत देखिने, शरीर सुक्ने आदि हुन्छन्। यो भने कलेजो स्थायी रुपमै ड्यामेज भएको संकेत हो।
यसैले कलेजो नियमित परीक्षण गराउनुपर्छ। मदिरा सेवन गर्ने बानी छ, मोटोपन, कोलेस्टेरोल, हेपाटाइटिस बी या सी छ भने हरेक ३–३ महिनामा परीक्षण गराउनुपर्छ। तर, लिभर सिरोसिस छ भने एक महिनामै परीक्षण गराउने सल्लाह दिइन्छ।
कस्तो अवस्थामा गर्ने प्रत्यारोपण ?
लिभर सिरोसिस भएको अवस्थामा एकै पटक कलेजो ड्यामेज हुन्छ। यस्तो बेला इन्डोस्कोपी गरेर तथा औषधि खुवाएर कलेजोको आयु बढाउने काम गरिन्छ। तर, लिभर सिरोसिस भइसकेपछि कलेजोको आयु कम हुने भएकाले प्रत्यारोपण नै गर्नुपर्छ। कलेजोको क्यान्सर हुँदा भने सुरुवाती अवस्थामा क्यान्सर भएको भाग काटेर फाल्न सकिन्छ। तर, अन्तिम अवस्थामा भने अर्को उपाय हुँदैन। हेपाटाइटिस बी र सी र आयुर्वेदिक औषधिले अचानक कलेजो फेल गराउँछन्, जसलाई एक्युट लिभर फेलियर भनिन्छ। प्रत्यारोपणका लागि बिरामीका आफन्त, नातेदारले कलेजो दान गर्न सक्छन्। दान गर्ने व्यक्तिबाट दुई तिहाईसम्म कलेजो लिएर वयस्क व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। बालबालिकालाई प्रत्यारोपण गर्दा भने धेरै कलेजो लिनु पर्दैन। यसरी दुई तिहाई कलेजो दान दिँदा बाँकी रहेको एक तिहाई कलेजोले पनि मानिसको शरीरमा राम्रोसँग काम गरिरहन सक्छ। दान दिएको कलेजो २ महिनामै ९० प्रतिशत पलाउँछ भने ६ महिनामै पूरानै स्थितिमा फर्कन्छ। यस्तै, कलेजो प्रत्यारोपण गरेको व्यक्तिमा अन्य समस्या छैन भने सामान्य अवस्थामा आउन ३ देखि ६ महिना लाग्छ। यस्तै, मृत्यु भएका व्यक्तिबाट पनि स्वस्थ कलेजो लिएर प्रत्यारोपण गर्न सकिन्छ।
मिर्गौला प्रत्यारोपण गरेपछि त्यसको आयु १०–१५ वर्ष मानिन्छ। तर, कलेजो प्रत्यारोपण गरेको व्यक्ति जति समय बाँच्नुपर्ने हो, त्यति बाँच्छन्। र,प्रत्यारोपित मिर्गौला बचाउन जति औषधि खानुपर्छ, त्यसको तुलनामा प्रत्यारोपित कलेजो बचाउन कम खर्च हुन्छ।
कलेजोको स्याहार कसरी गर्ने ?
सबैभन्दा मुख्य कुरा त कलेजोलाई हानी हुने कुराहरुबाट बँच्नुपर्छ। सकेसम्म मदिरा सेवन गर्नुहुन्न। दिनहुँ मदिरा सेवन गर्दा कलेजोमा भएको क्षति रिकभर हुनै पाउँदैन। यस्तै, कलेजोमा बोसो जम्न दिनुहुँदैन। तौल नियन्त्रणमा राख्नुपर्छ। नियमित शारीरिक अभ्यास गर्नुपर्छ। फलफूल, सागसब्जी खानुपर्छ। चिल्लो तथा गुलियो कम खानुपर्छ। सुगर नियन्त्रणमा राख्नुपर्छ।
यस्तै, जथाभावी हर्बल तथा आयुर्वेदिक औषधि खानुहुँदैन। यस्ता औषधिको साइडइफेक्ट हुँदैन भन्ने गरिए पनि हरेक दिन यसले साइड इफेक्ट भएको भनेर बिरामीहरु उपचार गराउन आइराखेका हुन्छन्। यस्तै, क्षयरोग तथा हर्मोनका औषधिले पनि कलेजोलाई असर गर्न सक्छ। त्यसैले हर्मोनको औषधि सेवन गर्ने व्यक्तिले कलेजो नियमित जाँच गर्नुपर्छ।
तर, महत्वपूर्ण कुरा भनेको कलेजोको नियमित परीक्षण गर्ने, मदिरा सेवन नगर्ने र खानपान तथा नियमित शारीरिक अभ्यासमा ध्यान दिनु नै हो।
(डा पौडेल नर्भिक इन्टरनेशनल अस्पतालका लिभर ट्रान्सप्लान्ट कन्सल्टेन्ट हुन्)