काठमाडौं- नेपाल आहारपुरक सौन्दर्यवद्र्धक सङ्घ (एनएनसिए)ले आफ्नो पहिलो अधिवेशन यही असोज १२ गते आयोजना गर्ने भएको छ। देशभर ६ सय बढी न्युट्रास्युटिकललगायतका आहारपुरक आपूर्ति गर्ने व्यवसायी छन्।
सङ्घद्वारा अधिवेशनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विप्लप रञ्जितले नेपालमा न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीको आयात र बजारीकरणमा आफ्नो सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिराखेको जानकारी दिए।
उनले भने, 'आम उपभोक्ता तथा बिरामीलाई पोषणतत्वको अभावले विविध रोग लाग्न सक्ने र त्यसलाई रोक्न न्युट्रास्युटिकल्स प्रोडक्टको महत्व विश्वव्यापी रुपमा बढेको छ।'
उनका अनुसार नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिई यस्ता सामग्रीको आयात र बजारीकरण भइरहेको छ। अध्यक्ष रञ्जितले भने, 'न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो । नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टाछुट्टै छ । यी निकायबीचको समन्वय नहुँदा पनि समस्या देखिएको छ।'
व्यवसायीले उपभोक्ताले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिनसक्ने व्यवस्थाको माग गर्दै आएका छन्। 'चिकित्सकले बिरामी हुनाको कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर न्युट्रास्युटिकल प्रेस्क्राइब गर्दै आउनुभएको छ कतिपय न्युट्रस्युटिकल रोगको उपचारसँगै दिइन्छ', सङघका अध्यक्ष रञ्जितले भने, 'बिरामीको शरीरलाई चाहिने जति पौष्टिकतत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन। यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ।'