चितवन- राष्ट्रपति रामचन्द्र पौडेलले गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै उनले क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए।
उनले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको बताए। “स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ। यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो।” उनले भने।
उनले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र ( हब) का रुपमा विकास हुनु लागेकोमा खुसी व्यक्त गरे। उनले क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याई बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए।
चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका हुन्। महामानव बीपी कोइरालाको स्मृतिमा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सम्झौता भई यो अस्पताल स्थापना भएको हो। स्थापनाकालमा १०० शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ।
सो अस्पतालले गत आव २०८०/८१ मा छ हजार ७९५ क्यान्सरका बिरामीसहित एक लाख ८८ हजार ५१४ जनाको उपचार गरेको जनाएको छ।