नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम)- यहाँस्थित पृथ्वीचन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट (मेसु) डा मोहम्मद नुरुल होदाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य उपकरणको माग गरेका छन्।
बर्दघाटस्थित ट्रमा सेन्टरको शिलान्यास कार्यक्रममा आएका स्वास्थ्यमन्त्री पौडेलले जिल्ला अस्पतालको अवलोकन तथा निरीक्षण गरे। निरीक्षणको क्रममा अस्पतालका मेसु डा होदाले चार स्वास्थ्य उपकरणको माग गरे। अस्पतालमा स्वास्थ्यसम्बन्धी उपकरणको अभाव छ। अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति उपलब्ध भए पनि उपकरणको अभावमा सेवा दिन नसकिएको डा होदाको गुनासो छ।
'अस्पतालका लागि चार उपकरण माग गरिएको छ। अर्थोपेडिक (हाडजोर्नी शल्यक्रिया) का लागि सि–आमन, जेनरल एनेस्थेसिया, लेप्रोस्कोपी शल्यक्रिया र कान शल्यक्रिया उपकरण गरि चार उपकरण माग गरिएको छ,' उनले भने। अस्पतालमा अर्थोपेडिकको उपकरण भए पनि पुरानो भएकाले अर्को माग गरिएको उनले बताए।
अस्पतालको नयाँ भवनबाट सेवा प्रभावकारी बनाउन उपकरण आवश्यक रहेको उनको भनाइ छ। उनका अनुसार आकस्मिक शल्यक्रिया (ईमर्जेन्सी ओटी) र अतिरिक्त शल्यक्रिया (सिडियोल ओटी) को सेवा सञ्चालनको तयारी भइरहेको छ।
अस्पतालको २४घण्टा सेवा थप प्रभावकारी बनाउन आवश्यक तयारीमा जुटेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए। अस्पतालमा अहिले अर्थोपेडिक सर्जन, जनरल सर्जन र इएनटी सर्जनलगायत चिकित्सक रहेको अस्पतालले जनाएको छ। पछिल्लो समय थप सेवासहित व्यवस्थापन पक्ष सुधार भएकाले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। रासस