काठमाडौं– नरदेवी अस्पतालका निर्देशक डा रामदेव यादवले आफूलाई सर्जन बताएर निजी क्लिनिकमा बिरामीसँग चर्को शुल्क असुल्ने गरेको पाइएको छ । सर्जरी विधाको औपचारिक डिग्री नभएका उनले क्लिनिकमा सर्जरी समेत गरेको बिरामीले बताएका छन् । उनले गरेको सर्जरी सफल नभएपछि रहस्योद्घाटन भएको हो।
फिस्टुलाको उपचारका लागि नरदेवी अस्पताल आइपुगेका संखुवासभवाका ४४ वर्षिया ज्ञानबहादुर रायसँग उनले ३ हजारमै हुने उपचारका लागि २५ हजार शुल्क तोकेका हुन् । तोकिएको मध्ये १३ हजार उनले उपचार नै राम्रोसँग नगरी असुलेको पाइएको छ।
फिस्टुलाको समस्याबाट ग्रसित रायले नरदेवी अस्पतालमा परीक्षण गराउँदै आएका थिए । ‘मैले डा कृष्ण ज्ञवालीलाई परीक्षण गराउँदै आएको थिएँ’, ‘साथीले डा रामदेव यादवको क्लिनकिमा चाँडै उपचार हुने बताए । साथीकै सल्लाहमा म डाक्टर रामदेवको क्लिनिकमा पुगेको थिएँ,’ उनले स्वास्थ्यखबरलाई भने ।
केशर आयुवेर्दिक नामक शान्तिनगरमा रहेको उनको क्लिनिकमा फिस्टुलाको सर्जरीका लागि २५ हजार लाग्ने उनले बताएका थिए। बिरामीका अनुसार आफूले सर्जनका रुपमा यस्ता १७/१८ हजारभन्दा बढी केसहरु हेरेका डा यादवले दाबी गरेका थिए । अस्पताल जाँदा एमआरआई लगायतका अन्य परीक्षणसमेत गराउनुपर्ने भएकोले बढी खर्च हुने भन्दै उनले क्लिनिकमै उपचार गराउन जोडबल गरेको पनि बिरामीको भनाइ छ।
उनलाई उपचार पश्चात् १५ दिनमा नै पुरानो अवस्था फर्कन सकिने विश्वास दिलाएका थिए डा यादवले । शल्यक्रिया पश्चात् दुखाइ कम नभएको गुनासो लिएर फेरि बिरामी क्लिनिक पुगेका थिए । रायले सम्भावित अन्य जटिलता बारे नबुझी मल्हम दिएर फर्काएको बिरामीले बताए।
जब अर्काे फिस्टुला पत्ता लाग्यो
उनी घाउ ड्रेसिङका लागि सिंहदरबार नजिकैको एक मेडिकल पुगेका थिए । त्यहाँ उनको अर्काे पनि फिस्टुला रहेको जानकारी मेडिकल सञ्चालकले दिएका थिए।
आफूमा अर्काे फिस्टुला पनि रहेको भन्ने जानकारी उनले डा यादवलाई गराएपछि पुनः आफैंले शल्यक्रिया गर्ने बताए। तर, बिरामी रायले उनको प्रस्तावलाई अस्वीकार गरेका थिए । डा रामदेवप्रति शंका लागेपछि उनले अनलाइनमा सर्च गरेका थिए । त्यहाँ डा रामदेवबारे देखाएका सूचनाबाट उनी सर्जन नभएको निष्कर्षमा आफू पुगेका बिरामी बताउँछन् ।
पुनः उपचारका लागि नरदेवि
दुखाइ झनै बढ्दै गएपछि राय उपचारका लागि पुनः नरदेवि अस्पताल पुगे। त्यहाँ पुगेर उनले डा सिजन कोजुलाई परीक्षण गराए । आफूले उनीसँग सोधपुछ गर्दा डा यादव सर्जन नभएको पक्का भएको बताउँछन्।
नरदेविकै अर्का चिकित्सक डा नेत्र बस्नेतले समेत डा रामदेवले हुँदै नभएको अधिकार प्रयोग गरी सर्जरी गरिदिएको उनलाई जानकारी दिए । डा यादवले आफ्नो समस्याबारे बताउँदा नरदेवि डा रामदेवले नरदेवि नजान जोडबल गरेको बिरामीको भनाइ छ। अहिले उनले नरदेविमै दोस्रोपटक शल्यक्रिया गरेर निको हुने क्रममा छन्।
कार्यालय प्रमुखको निन्दनीय काम : अस्पताल कर्मचारी
बिरामीलाई यथार्थ बताएर सही उपचारका लागि सिफारिस गर्नुपर्नेमा भ्रममा पारेर क्लिनिकमा सर्जरी गरिदिनु एक चिकित्सकका रुपमा निन्दनीय कार्य भएको त्यही अस्पतालका चिकित्सक बताउँछन्। अस्पतालमै कार्यरत डा जया सत्याल आफूले प्राप्त गर्दै नगरेको डिग्रीको भ्रममा राखेर उपचार गर्नु सामान्य गल्ती नभएको बताइन्।
‘उहाँ सर्जन होइन,त्यसैले उहाँले गरेको सर्जरीपछि समस्या देखिएपछि बिरामी पुन नरदेवी अस्पताल आइपुग्दा केस बाहिर आएको हो,’ डा सत्यालले स्वास्थ्य खबरसँग भनिन्। अस्पतालको निर्देशक जस्तो पदमा रहेको चिकित्सकबाट यो तहको कार्य निन्दनीय रहेको समेत उनले बताइन् । विषय विज्ञता नै नभएको व्यक्तिले सर्जरी गरेर बिरामीको ज्यानमाथि खेलबाड गरेको उनको भनाइ छ।
यस विषयमा डा यादवसँग कुरा गर्न पटक–पटक प्रयास गरेपनि उनी सम्पर्कमा आउन चाहेनन्।