काठमाडौं- स्वास्थ्य सामग्री सप्लायर्स तथा सेवा प्रदायक संस्था वेब ट्रेडिङ कन्सर्न प्रालिको गोदाममा बाढीले असर गरेको छ। वेब ट्रेडिङको बालकुमारीस्थित मनोहरा करिडोरमा रहेको गोदाममा बाढीले क्षति पुर्याएको हो।
काठमाडौं उपत्यकासहित देशभर लगातार परेको अविरल वर्षाले अन्य क्षेत्रमा जस्तै वेब ट्रेडिङको गोदाममा पनि क्षति गरेको हो। शुक्रबारदेखि अविरल वर्षाका कारण खोला उर्लिएर मनोहरा खोला बस्तीसम्म पसेको थियो। मनोहरा खोला नै बस्तीसम्म पसेपछि घर टहराहरु भत्किएर क्षतिग्रस्त भएका छन्।
वेब ट्रेडिङले क्षतिको प्रारम्भिक आकलन गरेको छ। प्रारम्भिक आकलन अनुसार गोदाममा राखिएका विभिन्न चिकित्सकीय सामग्रीहरू, अस्पतालजन्य उपकरणहरू तथा विभिन्न केमिकलहरू गरी करिब ३ करोड २५ लाखजतिको क्षति पुगेको।
कम्पनीले क्षतिको पूर्ण मापन गर्न र अवरोधलाई न्यून गर्न आवश्यक उपायहरू लागू गर्न दिनरात काम गरिरहेको कम्पनीका सञ्चालक रामइन्द्र न्यौपानेले जानकारी दिए।
'यस अप्रत्याशित परिस्थितिका कारण सेवामा ढिलाई हुन सक्ने सम्भावना बढेको छ। कम्पनीले आफ्नो ग्राहकहरूलाई यो कठिन समयमा सहयोग र बुझाइका लागि धन्यवाद दिन चाहन्छ,' उनले भने, 'सबै सामग्रीहरू वितरणका लागि उपयुक्त छन् कि छैनन् भन्ने निर्धारण गर्न विस्तृत निरीक्षण पनि भइरहेको अवस्था छ।'
उनले क्षति लगत्तै निरीक्षणमा दिनरात खटिएका सम्पूर्ण कम्पनीका सदस्यहरू तथा प्राविधिकहरुलाई र यस विषम परिस्थितिमा हौसला प्रदान गरिरहेका शुभचिन्तकहरूलाई धन्यवाद समेत दिएका छन्।