काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि बनाएको छ।
विपद् तथा आपत्कालिन वा रोगको प्रकोपबाट प्रभावित बिरामीलाई आपत्कालिन रुपमा चिकित्सा सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ उक्त कार्यविधि बनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा एक कार्यक्रमकाबीच उक्त कार्यविधि सार्वजनिक गरिएको हो।
कुनै पनि आकस्मिक घटना वा आपत्कालीन अवस्था सिर्जना भइ जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिका जीवनलाई जोखिममुक्त गर्ने, जीवन गुम्न वा अंगभंग हुने अवस्थाबाट बचाउन उक्त कार्यविधि बनाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार कार्यविधिको मुख्य उद्देश्य नेपालभित्रका कुनै पनि स्थानमा स्वास्थ्य आपत्कालिन अवस्था आएको खण्डमा समयमा नै रोगको पहिचान, रोकथाम र उपचार गरी रोग र मृत्युदरलाई कम गर्न तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको समूहको परिचालन सहयोग गर्नु हो। आपत्कालीन चिकित्सकीय समूहको सिदान्तमा सुरक्षा सुनिश्चिता, आदर सम्मान सहानुभूतिका साथ उपचार, उपलब्ध स्रोत,साधनको अधिकतम् उपयोग,सहकर्मीसँग विनम्रता र आदरको व्यवहार,उपकरण,सुविधा,र अन्यको उचित व्यवस्थापन,स्थानीय संस्कृतिको सम्मान र वातारणको संरक्षण लगायतका विषयहरु पर्छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार प्राकृतिक दोहनका कारण धेरै प्रकारका संकटको सामना गर्नुपरिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि ल्याएको हो।
‘प्राकृतिक संकटको सामनाका लागि राज्य संयन्त्रलाई तयारी अवस्थामा राख्न यो मन्त्रालयले गरेको पूर्वतयारी हो’ उनले भने।
‘धेरैजस्तो बनिसकेका संयन्त्रलाई समेत संकट समाधानमा परिचालन गर्न सकेको अवस्था छैन’, उनले भने ‘चाहिएको अवस्थामा जतिबेला पनि परिचालन गर्न सकिने संयन्त्र गरी बनाउने तयारीमा हामी छौं’।
यसलाई नेपालमा मात्रै नभई जुनसुकै मुलुकमा समेत संकटको अवस्था आउँदा परिचालन गर्न सक्ने संयन्त्रका रुपमा विकास गर्नुपर्ने उनको धारणा थियो। आवश्यक उपकरण स्थायी संरचना तथा साधन स्रोतसहितको संरचनाका रुपमा यसलाई विकास गर्न आवश्यक रहेको मन्त्री पौडेलले बताए।