काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५.९ प्रतिशत पास भएका छन्। काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन्।
मेडिकलतर्फ १ हजार १६८ जनाले परीक्षाका लागि फारम भरे पनि ३९ जना गयल भएका थिए। तीन जनाको नतिजा वीथहेल्डमा राखिएको छ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार कुल १ हजार १२९ जना सहभागी भएकोमा ५७९ जना मात्रै पास भएका छन्। डेन्टल तर्फ ३०६ जनाले फारम भरेको भए पनि १० जना गयल छन्। कुल २९६ जनाले परीक्षा दिएकोमा २१६ जना उत्तीर्ण भएको डा देवले जानकारी दिए।
यसपटक परीक्षा हुनु अघि देशभर आएको बाढी पहिरोका कारण परीक्षार्थीलाई अफ्ठेरो पर्न सक्ने भन्दै काउन्सिलले हिजो १५ असोजमा दिउसोको सिफ्ट र आज विहानको सिफ्ट छुटेका परीक्षार्थीका लागि सहभागी हुन मौका दिएको थियो।