काठमाडौं- नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय हेल्थ समिट यही मंसिर २८ र २९ गते हुने भएको छ। सम्मेलनका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव डा सन्जिब तिवारीले 'हेल्थ वियोन्ड हेन्थ' भन्ने मुख्य सन्देश सहित कार्की व्यांकेटमा दुई दिने सम्मेलन हुने जानकारी दिए।
'नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्दै आएको एनएमए नेसनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम यस वर्षको चौथो सम्मेलन २०८१ मङ्सिर २८ र २९ गते हुने छ,' सम्मेलनमा डा तिवारीले भने, 'यो वर्षको मुख्य सन्देश हेल्थ वियोन्ड हेल्थ राखिएको छ।'
डा तिवारीका अनुसार सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको छ। उक्त कार्यक्रम विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहससहित आयोजना हुन गईरहेको उनले जानकारी दिए।
उक्त सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि उनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले पनि यस्तै प्रकृतिको सम्मेलन गर्दै छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा संघका अध्यक्ष डा अनिल कार्कीले मन्त्रालयले यस्ता सम्मेलनहरु किन गर्न लागेको हो भन्ने आफूले बुझ्न नसकेको प्रतिक्रिया दिए। 'मन्त्रालयले यस्ता सम्मेलन आयोजना गर्ने नै होइन,' उनले भने, 'सम्मेलनमा आएका विषयवस्तुहरु भोलिका दिनमा मन्त्रालयले नै कार्यान्वयन भएन भने के हुन्छ? मन्त्रालयले त हामी तथा हामीजस्तै संस्थाले गरेका कार्यक्रमबाट आएका विषयहरुलाई कार्यान्वयन गर्दै लैजाने हो।'
उनले संघले गर्न लागेको कार्यक्रम नियमित वार्षिक कार्यक्रम रहेको र यो हरेक वर्ष हुने बताए।