म्याग्दी- धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिए। “वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो,” उनले भने, “स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ ।”
सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाले अघिल्लो वर्ष वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको थियो । वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् ।