काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको संस्था नेप्लिज सोसाइटी फर प्राइमरी केयरलाई थाइल्यान्डको जनस्वास्थ्य मन्त्रालयले एसिया प्यासिफिक एक्सन एलायन्स अन ह्युमन रिसोर्स फर हेल्थ (एएएएच) अवार्ड दिने निर्णय गरेको छ।
एसिया प्यासिफिक एक्सन एलायन्स अन ह्युमन रिसोर्स फर हेल्थको सचिवालयले नेप्लिज सोसाइटी फर प्राइमरी केयरलाई इमेल गर्दै अवार्ड प्रदान गरिने जानकारी दिएको हो। एसिया प्यासिफिक एक्सन एलायन्स अन ह्युमन रिसोर्स फर हेल्थले यो वर्ष विभिन्न चार वटा विधामा अवार्ड प्रदान गर्ने छ। जसमध्ये नेप्लिज सोसाइटी फर प्राइमरी केयरलाई प्राइमरी हेल्थ केयर टिम विधामा अवार्ड प्रदान गर्ने निर्णय गरेको हो।
अवार्डका लागि थाइल्यान्डको जनस्वास्थ्य मन्त्रालयले एसिया प्यासिफिक क्षेत्रका विभिन्न देशबाट आवेदन माग गरेको थियो। एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य मन्त्रालय मार्फत पनि आफ्ना देशका संस्थाहरुलाई उक्त अवार्डका लागि आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको थियो।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गत जेठ २० गते सार्वजनिक सूचना निकाल्दै आवेदन दिन भनेको थियो। सोही आधारमा नेप्लिज सोसाइटी फर प्राइमरी केयरले प्राइमरी हेल्थ केयर टिम विधामा आवेदन दिएको थियो।
नेप्लिज सोसाइटी फर प्राइमरी केयरका अन्तर्राष्ट्रिय समन्वय निकायका कोर्डिनेटर डा हुलास अग्रवालले आफ्नो संस्थालाई अवार्ड प्रदान गर्ने निर्णय गरेको आधिकारिक जानकारी प्राप्त भएको बताए। 'यो हाम्रा लागि निकै खुसीको कुरा हो,' उनले भने, 'अवार्डले यो क्षेत्रमा थप काम गर्न हौसला प्रदान गरेको छ।'
नेप्लिज सोसाइटी फर प्राइमरी केयरले मेडिकल अधिकृतहरुलाई तालिम दिने, प्राथमिक स्वास्थ्य सम्बन्त्री काम गर्ने, प्रिहस्पिटल केयर र क्यान्सर रोकथाम सम्बन्धी काम गर्दै आइरहेको छ। डा बबी भगत अध्यक्ष रहेको उक्त संस्थामा करिब तीन सय जना आवद्ध रहेका छन्। संस्थाको कार्यकारीमा डा पार्थ गुरागाईं, डा राजाबाबु मण्डल, डा हुलास अग्रवाल, डा सुमन न्यौपाने छन्।
एएएएच अवार्डका लागि विभिन्न १२ देशबाट ७६ वटा आवेदन परेको थियो। सन् २००५ बाट सुरु भएको एएएएच सञ्जालमा हाल २२ देश आवद्ध छन्।