काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालबाट हालसम्म १६ जनाले न्युरोसर्जरीको डिग्री ‘एमसीएच न्यूरोसर्जरी’ हासिल गरेका छन्। वीरको ‘नेशनल न्यूरोसर्जिकल रिफरल सेन्टर’ न्युरोसर्जरी विभागले नेपालमा न्यूरोसर्जरीको उच्चतम डिग्री ‘एमसीएच न्यूरोसर्जरी’ कार्यक्रमको शुरुवात भएको २५औं बार्षिकोत्सवका उक्त जानकारी दिएको हो।
वीर अस्पतालमा सन् २००० बाट उक्त कार्यम सुरु भएको हो। शुक्रबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरिएको थियो। जहाँ विभागको सुरुवातदेखि हालसम्म कार्यरत तथा त्यहाँ अध्ययन गरेका चिकित्सकलाई चिकित्सक तथा नर्सलाई सम्मान गरिएको छ।
कार्यक्रममा बोल्दै न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले न्युरोसर्जरी विभाग वीर अस्पतालकै अब्बल विभागमध्ये न्युरोसर्जरी एक रहेको बताए। ' वीर अस्पतालप्रतिको भरोसा कायम राख्न यद्यो विभागको विशेष योगदान छ,'उनले भने, 'यहाँ तालिम लिएका लिएका न्युरोसर्जनहरुले हाल नेपालकभरी फैलिएर उत्कृष्ट सेवा प्रदान गरिरहनुभएको छ।' विभागमा कार्यरत चिकित्सकको लगन र दक्षताले टाउको तथा मेरुदण्डको जटिल समस्याको उपचार सम्भव उनले उल्लेख गरे। विभागले विश्वमै अत्याधुनिक र जटिल मानिने ‘फङसनल न्यूरोसर्जरी’ समेत गरिरहेको छ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले न्युरोसर्जरी विभागका कारणले पनि अस्पतालप्रति आमजनको विश्वास बढेको बताए। उक्त विभागलाई अझै सुविधासम्पन्न बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता पनि उनको थियो।
विभागीय प्रमुख प्राडा राजीव झाले न्युरोसर्जरी विभागले निरन्तर प्रगति गरिरहेको बताए। उनले भने, 'जनजीवन र जिविकोपार्जनका क्रममा हुने दुर्घटनाका कारण स्नायु मष्तिस्क समस्याका लागि अझै धेरै न्युरोसर्जन आवश्यक देखिन्छ।'
उक्त विभागबाट पासआउट पहिलो न्युरोसर्जन डा प्रकाश विष्टले शिक्षा र सेवा दुबैमा विभाग अब्बल रहेको बताउँदै आधुनिक प्रविधिलाई आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिए।