काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) र अमेरिका नेपाल मेडिकल फाउण्डेशन (एएनएमएफ)ले बाढी प्रभावित क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्वास्थ्य शिविरसँगै एनएमए र एएनएमएफले प्रभावित क्षेत्रका बासिन्दालाई राहत सामग्री समेत वितरण गरेका छन्।
एनएमए र एएनएमएफले काठमाडौं महानगरपालिका वडा नं १४ बल्खुमा बाढी प्रभावितहरुको स्वास्थ्यमा देखिएको समस्या पहिचान गर्दै उपचार गर्न र तत्कालका लागि आवश्यक पर्ने राहत सामग्री वितरण गरेका हुन्।
शिविरमा एक हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको एनएमएका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए। उनका अनुसार शिविरमा एनएमएका पदाधिकारीहरुसहित जुनियर डाक्टर कमिटीका चिकित्सकहरुले सेवा दिएका थिए।
शिविरसँगै राहत वितरण कार्यक्रममा ३५० जनालाई विविन्न आवश्यक सामग्री सहयोग गरिएको एनएमएका महासचिव डा सन्जिब तिवारीले जानकारी दिए। उनले बाढी प्रभावित क्षेत्रमा यस्ता अन्य कार्यक्रम पनि गरिने जानकारी दिए।