काठमाडौं- मेडिसिन र फिजियोलोजीतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ। नोबेल पुरस्कार २०२४ मेडिसिनका ग्यारी रुव्कुन र फिजियोलोजीका भिक्टर एम्ब्रोसलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको हो।
ग्यारीलाई पोस्ट-ट्रान्सक्रिप्सनल जिन रेगुलसन र भिक्टरलाई माइक्रो आरएनए खोजेबाफत दिइएको हो।
भनिएको छ, 'यसपल्ट त्यस्ता दुई वैज्ञानिकलाई सम्मान गरिएको छ। उनीहरुको खोजले जिन एक्टिभिटी नियमनको आधारभूत सिद्धान्त पत्ता लागेको छ।'
यस वर्षको औषधि पुरस्कार विजेता भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनले विभिन्न प्रकारका कोशिकाहरू कसरी विकास हुन्छन् भन्नेमा अध्ययन गरेका छन्। 'उनीहरूले माइक्रोआरएनए पत्ता लगाए, साना आरएनए अणुहरूको नयाँ वर्ग खोजे, जसले जीन नियमनमा महत्त्वपूर्ण भूमिका खेल्छ। तिनीहरूको खोजले जीन नियमनको नयाँ सिद्धान्त प्रतिपादन गर्योा, जुन मानवलगायत बहुकोषयुक्त जीवहरूको लागि आवश्यक छ,' विज्ञप्तिमा भनिएको छ।
उनीहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गरेका थिए ।
सन् १९९३ मा दुई लेखमा प्रत्येक कोषलाई सान्दर्भिक निर्देशनहरू मात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उनीहरूको आधारभूत निष्कर्ष प्रकाशित भएको थियो।
आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौंदेखि एक महत्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल (जूरी)ले बताएको छ। यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगहरूको जोखिम निम्त्याउन सक्छ।
निर्णायक मण्डलले भनेको छ, “उनीहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट गर्यो जुन मानवसहित बहुकोशीय जीवहरूको लागि आवश्यक साबित भयो।”
यो जोडीले माइक्रोआरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो ।
७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन् भने ७२ वर्षीय रुव्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन्।
सन् १८९६ मा वैज्ञानिक अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा स्टकहोममा आयोजित एक औपचारिक समारोहबीच उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी १.१ करोड स्विडिस क्रोन रहेको छ ।