काठमाडौं- रामेछापको मन्थली नगरपालिका वडा नं १३ का सुमन चौहानका १० वर्षीय छोरा विश्वराजको दशैंको टीकाकै दिन दुवै हात फ्याक्चर भयो। गाउँमा साथीहरुसँग खेल्ने बेलामा हात भाँचिएपछि चौहान आत्तिए। टीकापछि थप दुई दिन सरकारी बिदा भएका कारण अस्पतालमा चिकित्सक नभेटिने उनलाई डर थियो र डरैडरबीच उनले भोलिपल्ट नै काठमाडौंको ट्रमा सेन्टरमा पुर्याए।
ट्रमामा पुर्या उनुअघि सेन्टरको फेसबुक पेज हेरेका थिए। त्यहाँ दशैं बिदाको समयका लागि सूचना राखिएको थियो। सूचनामा केही समस्या पर्दा अन ड्युटी अफिसरका साथै प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा रुद्र मरासिनीलाई सिधै फोन गर्न नम्बर राखिएको थियो। उनले त्यही नम्बरमा फोन गरेर सोधेका थिए, 'उपचारका लागि बिदामा पनि डाक्टर हुनुहुन्छ?' फोनमा उपचार हुने भरोसा पाएपछि उनी अस्पताल आइपुगेका हुन्।
बिदाको समयमा पनि अरुबेला सरह नै छोराको भाँचिएका हातको उपचार गराएका चौहान भन्छन्, 'ट्रमा सेन्टरमा राम्रो व्यवस्था गर्नुभएको रहेछ। म आत्तिएको थिएँ तर त्यहाँ पुगेपछि ढुक्क बनाउनुभयो। अहिले उपचार भइसक्यो।'
ट्रमा सेन्टरले चाडबाडको समयमा हुने सम्भावित दुर्घटना र त्यसको उपचारका लागि पूर्वतयारी गरेको थियो। त्यही तयारीका कारण बिदाको ५ दिनमा पनि आपतकालीन अवस्थामा आइपुगेका ३६० जनाले उपचार सेवा पाएका छन्। तीमध्ये १५ जनाको इमर्जेन्सी मेजर अप्रेसन, ६५ जनाको इमर्जेन्सी अप्रेसन र १० जनाको अन ड्युटी अप्रेस भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।
उनले भने, 'सार्वजनिक बिदाको समयमा ओपीडी बन्द भयो । तर, हाम्रो अस्पताल इमर्जेन्सी सेवाका लागि भएकाले पहिले नै तयारी गरेर ड्युटी मिलाएका थियौं। त्यहीअनुसार सार्वजनिक सूचना गरेका थियौं। त्यसैले बिरामीहरु बिना संकोच आउनुभयो र हामीले सेवा दियौं।' सूचनामा आकस्मिक कक्षमा आउने चोटपटक लागेका सम्पूर्ण घाइते बिरामीहरूको लागि २४ सै घण्टा उपचार र अपरेसन हुने ब्यवस्था मिलाइएको प्रस्ट उल्लेख गरिएको थियो।
अस्पतालको आइसियु तथा एनेस्थेसिया विभाग प्रमुख डा रुपेश यादवका अनुसार सवै विभाग, शाखा र ईकाइहरुले बिदा अवधिभरको ड्युटी रोस्टर बनाएका थिए। त्यहीअनुसार अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरु ड्युटीमा थिए। ट्रमा सेन्टरमा सामान्यतया बिरामीहरु दुर्घटनामा परेर आउने भएकाले एनेस्थेसियाको उपस्थिति अनिवार्य रहन्छ। त्यसैमाथि ११ बेडको क्रिटिकल केयर युनिट सधैं भरिभराउ नै हुने भएकाले पनि एनेस्थेसियाका चिकित्सक चाहिने हुन्छ। एनेस्थेसिया विभागले दशैं र तिहार गरी दुईटा विदाको रोस्टर बनाएको थियो। दशैंमा विदा नबस्ने चिकित्सकले कम्तिमा १२ घन्टा ड्युटी गरेका थिए। डा यादवलगायत वरिष्ठ चिकित्सक ब्याकअपमा बसेका थिए। उनले भने, 'मेरो यसपल्ट दशैं नभएका कारण २४-२४ घन्टा गरी बिदाको ५ दिनमा ४८ घन्टा म आफैं पनि सक्रिय भएँ।' एनेस्थेसियाका लागि मेजर वा माइनर सवै केस उस्तै भएकाले आफूहरु उत्तिकै सक्रिय रहेको उनले बताए।
अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा महेश कर्मचार्य बिदा अवधिभरका लागि अन ड्युटी अफिसरलाई केही अधिकार प्रत्यायोजन हुँदा व्यवस्थापन गर्न अझ सहज भएको बताउँछन्। उनले भने, 'इमर्जेन्सीमा आउने बिरामीको व्यवस्थापनका लागि हामीले ड्युटी रोस्टर बनाएका थियौं। बेवारिसे तथा अशक्त बिरामीको उपचार सहुलियत प्रक्रियालाई सहज बनाउन अन ड्युटी अफसिर र सामाजिक सेवा इकाईलाई नै छुट दिन सक्ने गरी अधिकार प्रत्यायोजन गर्दा सहज भयो।'
बिदाको समयमा सेवा दिने चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई थप सेवासुविधा तोकेर प्रोत्साहित गरेको डा मरासिनी बताउँछन्।