काठमाडौं- विश्व चिकित्सक संघको सभामा नेपालमा हालै गएको बाढी, त्यसले पारेको असर र बाढीपछिको राहत तथा उपचार लगायतका विषयमा छलफल भएको छ।
नेपालबाट सभामा भाग लिन नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की र डा सञ्जिब तिवारी पुगेका थिए। सभामा महासचिव डा तिवारीले प्रस्तुती दिएका थिए। सम्मेलन फिनल्यान्डको हेलसिन्कीमा भएको थियो।
डा तिवारीले आफ्नो प्रस्तुतीमा नेपालमा हालै गएको बाढी र त्यसले गरेको असरका विषयमा तथ्यांकसहित जानकारी दिएका थिए। उनले बाढीपछि संघले गरेको राहत कार्यक्रम र स्वास्थ्य शिविरका विषयमा पनि जानकारी दिएका थिए।
उनले बाढीका कारण काभ्रे जिल्लामा सबैभन्दा धेरैको मृत्यु भएको र त्यसपछि काठमाडौं उपत्याकामा असर गरेको, संघले काठमाडौं र काभ्रेमा वितरण गरेको राहत र निशुल्क रुपमा स्वास्थ्य शिविर गरेको विषय उठाएका थिए।
सभामा नेपालको पछिल्लो अवस्था सहित स्वास्थ्य क्षेत्र र चिकित्सकहरुको हक हित लगायतका विषयमा पनि छलफल भएको थियो।
यसका साथै आगामी वर्ष नेपालमा हुन लागेको एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन ईन एशिया एण्ड ओसियानिया (सीएमएएओ)को वार्षिक साधारण सभाका विषयमा पनि छलफल भएको डा तिवारीले जानकारी दिए।
सीएमएएओको अध्यक्षमा डा कार्की केही समयअघि चयन भएका हुन्। सीएमएएओको फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले डा कार्कीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। डा कार्कीले सन् २०२५ देखि २०२६ सम्म सीएमएएओको नेतृत्व गर्नेछन्।