काठमाडौं- स्वास्थ्य तथा जनसंखया मन्त्रालयले राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि आवश्यक कदम अगाडि बढाएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल स्थापनाका लागि अध्ययन समिति बनाएका छन्।
मन्त्री पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै सात सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालका सह प्राध्यापक डा गोपाल सेढाईंको संयोजकत्वमा राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना सम्भाव्यता अध्ययन समिति गठन भएको हो।
समितिमा वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन अफ न्यूरोलोजिष्टका प्रतिनिधि, साइकियाट्रिक्स एसोसिएसन अफ नेपालका प्रतिनिधि र जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्स अमेरिकाका सहप्राध्यापक डा अमित कणेल सदस्य रहेका छन्।
यसैगरी समितिको सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा पुष्पराज पौडेल सदस्य सचिव रहेका छन्।
नेपालमा सरकारी सेवा तर्फ हालसम्म मस्तिष्क, मेरुदण्ड र स्नायु रोगको उपचार गर्ने छुट्टै विशिष्टकृत अस्पताल छैन। निजी स्तरबाट सञ्चालनमा रहेका अस्पतालहरुमा निकै महँगो भएकाले सरकारी स्तरमा एक सुविधासम्पन्न राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्न अत्यावश्यक रहेकाले उक्त काम अगाडि बढाइएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।