काठमाडौं- एमबीबीएस अध्ययनमा लिएको अतिरिक्त शुल्क फिर्ताको मागसहित काठमाडौं मेडिकल कलेजका इन्टर्न चिकित्सकले गरेको आन्दोलन तीन दिनका लागि स्थगित भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित बसेको इन्टर्न चिकित्सकहरुको बैठकले कलेजलाई समस्या समाधानका लागि समय दिने भन्दै आन्दोलन स्थगित गरिएको एक इन्टर्न चिकित्सले स्वास्थ्य खबरलाई बताए।
काठमाडौं विश्वविद्यालय अन्तर्गत ०७५,७६ मा एमबीबीएस अध्ययन गरेका इन्टर्न चिकित्सकहरु कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नभएपछि विगत एक सातादेखि आन्दोलनमा उत्रिएका थिए। उक्त रकम फिर्ता गर्न शिक्षा मन्त्रालयले समेत निर्देशन दिइसकेको छ।
विभिन्न शीर्षकमा गरि ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम लिएकोमा कलेजले दुई लाख फिर्ता गर्ने बताएपनि उनीहरुले ४ लाख ९० लाख नै फिर्ता दिनुपर्ने माग राख्दै आएका छन्।
केएमसीले ५० जना नेपाली विद्यार्थी र ४० जना विदेशी विद्यार्थीबाट तीन करोड ७१ लाख ७८ हजार चार सय अतिरिक्त शुल्क लिएको उनीहरुले बताएका छन्।