दशैंलगत्तै काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ। चिसोका बेला वायु प्रदूषण पनि बढ्ने भएकाले श्वासप्रश्वासजन्य रोग, विशेषगरी दमको समस्या भएका बिरामीलाई बढी प्रभाव पर्ने गर्छ।
दम छातीसम्बन्धी रोग हो। फोक्सोमा हावा जाने नलीहरुमा अवरोध भइ उत्पन्न हुने समस्या नै दम हो। दमका रोग विभिन्न किसिमका हुन्छन्। कसैलाई क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) भनिन्छ भने कसैलाई आस्थामा भनिन्छ। कस्तो समस्या भएको भन्नेचाहिँ बिरामीको परीक्षण गरेर पहिचान गर्ने गरिन्छ।
किन हुन्छ दम?
दम विभिन्न कारणबाट हुने गर्छ। धुँवा, धुलो, धूमपान तथा वातावरणीय अवस्थाका कारणबाट दम लाग्न सक्छ। विशेषगरी, धुवाँधुलो, सडक तथा उद्योगमा काम गर्नेहरु दमको जोखिममा पर्छन्। वातावरणीय प्रदूषण तथा घरबाट निस्कने धुँवाधुलो पनि दमको कारक बन्न सक्छ।
लक्षण
सामान्यतः बसिराखेको अवस्थामा पनि स्वाँ–स्वाँ हुने, अलि–अलि काम गर्दा पनि श्वास बढेजस्तो हुने, खोकी बेलुकी अलि बढी लाग्ने, खकार बढी आउने, खकारको रंगमा परिवर्तन भएको् छ र सामान्य औषधि खाँदा पनि सन्चो हुँदैन भने दमका लक्षण हुन सक्छन्, डाक्टरसँग परामर्श लिनुपर्छ।
बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने?
बारम्बार रुघामात्रै लाग्दैमा दमको लक्षण नै हो भन्न मिल्दैन। तर, बारम्बार खोकी लाग्छ भने चाहिँ चिकित्सकसँग परामर्श लिनुपर्छ। खोकीमा पनि उमेर युवा अवस्थाको छ भने दम भनिहाल्न मिल्दैन। त्यस्तोमा ब्रोङकाइटिसमात्र भएको पनि हुन सक्छ।
तर, उमेर ४० वर्षमाथि छ, बारम्बार खोकी लागिरहन्छ भने परीक्षण गर्नुपर्छ। यसका लागि एक्स–रेबाट पल्मोनरी फङसन टेस्ट गरिन्छ, जसबाट क्रोनिक हो कि एक्युट हो कि भनेर छुट्याउन सकिन्छ।
सीढी चढ्दा हुने स्वाँ–स्वाँ दमको लक्षण हो?
अलिकता स्वाँ–स्वाँ हुनेबित्तिकै दम नै भयो भन्ने हुँदैन। स्वाँ–स्वाँका कारण धेरै हुन्छन्। कहिलेकाही मुटु, कलेजो, मिर्गौलाको समस्या कारण पनि स्वाँ–स्वाँ हुन्छ। यस्तै, एन्जाइटीका कारणले पनि स्वाँ–स्वाँ बढ्ने गरेको पाइन्छ। बिरामीलाई श्वास फेर्न गाह्रो भएको छ भने के भएको हो भनेर पहिचान गर्न सबैभन्दा पहिला हिस्ट्री थाहा पाउनु र परीक्षण गर्नु आवश्यक छ।
रुघाको खोप कस्तो उमेर समूहकालाई लगाइन्छ, यसले कसरी दम हुनबाट बचाउँछ?
यो खोप सबै उमेर समूहका लागि लगाइन्छ। कसैलाई दीर्घरोग लागेको छ, रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या छ, उमेर पनि ४० वर्षभन्दा बढी छ भने उनीहरुले लगाउनु लाभदायी हुन्छ। आजकाल बच्चाहरुलाई पनि लगाइन्छ, किनभने शिशुहरुलाई घ्यार घ्यार हुने, रुघा लाग्ने, ज्वरो आउनेजस्ता कारणले गर्दा रोकथामका लागि लगाउने गरिन्छ।
कुनै पनि खोपले समस्या छिटो छिटो हुनबाट जोगाउँछ।
तर, केही समस्या छैन भने खोप नलगाउन पनि सकिन्छ। तर, एकचोटि लगाइसकेको व्यक्तिलाई भने बर्सेनि लगाउँदा राम्रो हुन्छ। निरन्तरता नहुँदा खोप प्रभावकारी नहुन पनि सक्छ।
उपचार र स्याहार
दम छ भने लंग फङसन टेस्ट गरेर क्लिनिकल परीक्षणको आधार र बिरामीको हिस्ट्रीका आधारमा औषधि दिइन्छ। परीक्षणका लागि महत्वपूर्ण कुरा भनेको एक्स–रे र लंग फङसन टेस्ट नै हुन्छ। परीक्षणका लागि नयाँ नयाँ प्रविधि आएका छन्। सबैले ती गर्न नसक्लान्। उनीहरुका लागि उपचारका अरु विकल्प पनि छन्।
फोक्सोको स्याहारका लगि महत्वपूर्ण कुरा भनेको नियमित शारीरिक अभ्यास हो। ४५ मिनेटदेखि १ घण्टासम्म नियमित अभ्यास गर्न सकिन्छ। अर्को, महत्ववूर्ण कुरा त धूमपान छाड्नु नै हो।
तपाईंलाई थाहा छ?
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा विश्वभर २६ करोड २० लाख मानिस दम रोगबाट प्रभावित भएका थिए, जसमध्ये ४ लाख ५५ हजारको मृत्यु भएको थियो। अधिकांश मृत्यु न्यून तथा मध्य आय भएका मुलुकमा हुने गर्छन् जहाँ रोग पहिचार र उपचार सहज छैन। यस्तै, अमेरिकामा २ करोड ८० लाख मानिसहरुलाई दम छ। अर्थात् प्रत्येक १२ जनामध्ये एक जनालाई दमको समस्या छ।
नेपालमा भने प्रतिवर्ष १६ हजार मानिसको मृत्यु दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका कारण हुने गरेको तथ्यांक छ।
(डा गुप्ता नर्भिक इन्टरनेशनल अस्पतालका वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ हन्।)