काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलाई भ्रामक विज्ञापनको नियमन गर्न पत्र पठाएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभाग र मन्त्रालय मातहतका विभिन्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रसँग सम्बन्धित कार्यालय प्रमुख एवं प्रतिनिधिहरुसँग भएको छलफलका आधारमा मन्त्रालयले विभागलाई भ्रमात्मक विज्ञापन गरी समाजमा अवैधानिक चिकित्सा अभ्यास/ औषधीय गुण भएको भनी औषधीय सामाग्रीको बेच विखनको अभ्यास बढेको भन्ने जनगुनासो प्राप्त भएकोले सोको नियमन गर्न भन्दै पत्र पठाएको हो।
'आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा र वस्तुको भ्रमात्मक विज्ञापन गरी समाजमा अवैधानिक चिकित्सा अभ्यास / औषधीय गुण भएको भनी औषधीय सामाग्री को बेच विखनको अभ्यास बढेको भन्ने जनगुनासो प्राप्त भएकोले सोको नियमन गर्ने,' मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।
मन्त्रालयले विभागलाई योसहित तीन वटा बुँदाको काम गर्न पत्र पठाएको छ। जसमा निरोगी नेपाल अभियान अन्तर्गतको नागरिक आरोग्य कार्यक्रमलाई देशव्यापीरुपमा अभियानमूलक ढङ्गले सञ्चालन गर्ने र संघीयस्तरमा सञ्चालित आयुर्वेद सेवा कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गरी सोको प्रभावकारिता बढाउने विषय पनि रहेका छन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा र वस्तुका विषयमा पछिल्लो समय शत प्रतिशत निको हुने, उपचारको ग्यारेन्टी, नो साइड इफेक्ट भन्दै भ्रामक प्रचार प्रसार भइरहेको छ। जसका कारण बिरामीहरु मारमा परिरहेका छन्। मन्त्रालयमा उक्त विषयमा गुनासो धेरै आएपछि विभागमा नियमनका लागि पत्र पठाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।