काठमाडौं- डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीनजना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। बायाँ हात भाँच्चिएर आएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बालिकाको मृत्युपछि चिकित्सकले लापरबाही गरेको भन्दै अस्पतालमा हुलदंगा भएको थियो। उक्त हुलदंगापछि सुरक्षाका लागि चिकित्सकलाई प्रहरी कार्यालयमा पुर्यााइएको डोटी प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्माले जानकारी दिए।
उनका अनुसार बुधबार बेलुकी हातको शल्यक्रिया गर्नका लागि एनेस्थेसिया दिइएको थियो। एनेस्थेसिया दिएपछि बालिका होसमा नआएको जानकारी प्राप्त भएको उनले बताए।
उनले भने, 'एनेस्थेसिया खप्न नसकेर मृत्यु भएको हाम्रो प्रारम्भिक जानकारीमा आएको छ। थप अनुसन्धान जारी छ।'
स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोडमा उत्रिएका थिए। त्यसपछि सुरक्षाका साथै अनुसन्धानका लागि तीनजना चिकित्ससक डा राजमणि यादव, डा सुरेन्द्रकुमार चौधरी र डा अभिषेक यादवलाई नियन्त्रणमा लिएको बताएका छन्।
आफन्तले अझै शव उठाउन मानेका छैनन्। बालिकाको बुवा भारतमा रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।