काठमाडौँ- विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले विदेश जानुअघि नेपाली युवालाई निःशुल्क योग सिकाउने भएको छ । समाजले राजधानीमा आयोजना गरेको वृहत युवा भेलामा संस्थापक आचार्य राजन शर्माले विदेश जानुअघि नेपालीलाई निःशुल्क रुपमा दुई सयदेखि चार सय घण्टासम्म योग सिकाउन लागिएको जानकारी दिए।
कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताए।
सहप्राध्यापक श्रीराम सापकोटाले सुख र दुःख आफ्नै कारणले हुने विचार राखे। पूर्वसचिव भीम उपाध्यायले यस्ता कार्यक्रमले युवालाई उत्प्रेरित गर्ने बताए। कार्यक्रममा आचार्य शर्माका सुखसूत्र, योगदर्शन र प्राकृतिक चिकित्सा, आयुर्वेद अमृत दर्शन र विज्ञान भैरवतन्त्र गरी चार पुस्तक पनि विमोचन गरिएको थियो।