काठमाडौं- विश्व मधुमेह दिवसका अवसरमा सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गरिने भएको छ। तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक २३ गते देखि २९ गतेसम्म मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी)को सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गरेको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ आहार सेवन, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल व्यवस्थापन र सुर्तीजन्य पदार्थको सेवन नगरे टाइप टु मधुमेहबाट बच्न सकिन्छ भने पूर्व रोकथाम समेत गर्न सकिन्छ। मधुमेहको उपचार पनि गर्न सकिन्छ जसका लागि आहार, शारीरिक गतिविधि, औषधि सेवन, नियमित जाँच र जटिलताहरूको उपचार जस्ता विषयमा ध्यान दिन जरुरी छ।
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वभरका २० देखी ७९ वर्ष उमेर समुहका १०.५ प्रतिशत वयस्क जनसंंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ। मधुमेह भएका मध्ये ९०प्रतिशत मानिसलाई टाइप टु मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाईन्छ।
त्यस्तै, आँखारोग विशेषज्ञहरुका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी) बाट बच्न समयमै आँखा परिक्षण गराई दृष्टिविहिन हुनबाट जोगीन सकिन्छ। नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जिवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ।
मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धि जनचेतना जगाउँनका लागि तथा आँखा स्वास्थ्य सचेतनाका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको छ र विगत १८ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ।
वर्ष २०२४का कार्यक्रमहरुमा अस्पतालले कार्तिक २३ गतेदेखी २९ गतेसम्म मधुमेह भएका बिरामीहरुलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ साथै, विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ। त्यस्तै, बिरामी सचेतनाका लागी अस्पताल भित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिदैछ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरु प्रेसित गरिएको छ। त्यस्तै, देशैभरका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको छ भने मंसिर १ गते डायबेटिक सोसाइटि नेपालसँगको सहकार्यमा ओमबाहलबाट वल्काथनको आयोजना गरिदैछ।