काठमाडौँ- प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्लातर्फ प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलोपटक ५८ जना विद्यार्थी दीक्षित गर्दैछ । प्रथम दीक्षान्त समारोहको आयोजना गरेका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुने भएका हुन् ।
यसअघि भदौ २३ गते तय गरिएको समारोह प्रधानमन्त्री ओली नआउने भएपछि स्थगित भएको थियो । दीक्षान्त समारोहको सबै तयारी पूरा भएको उपकुलपति डा. मंगल रावलले जानकारी दिए ।
स्नातकतर्फ वीपीएचमा ३८,एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरेर ५८ जना विद्यार्थी दीक्षित हुनछन् ।
दीक्षान्त समारोहअघि प्रतिष्ठानको सभा बैठक बस्ने र दीक्षान्त समारोहपछि शैक्षिक भवनको उद्घाटन गर्ने कार्यतालिका छ।