जुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन्।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गरे। उनले भने, 'राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ।'
प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक थप सेवासुविधामा उपलब्ध सरकार प्रतिबद्ध रहेको बताउदै प्रतिष्ठानको परिकल्पनादेखि नै आफू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकामा उनले खुसी समेत व्यक्त गरेका छन्।
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीले आग्रह गर्दै भन,'म खुसी व्यक्त गर्न चाहन्छु, कर्णाली अगाडि बढ्दैछ। कर्णाली र सुदूरपश्चिमका गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो। अब यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो।'
संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहेका समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए।
उक्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी थिए।