काठमाडौं- अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्य मन्त्री नियुक्त गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन्। केनेडी जुनियरले सन् २०२४ को राष्ट्रपति चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पछि उनले ट्रम्पलाई समर्थन गरेका थिए। उनी कोभिड बिरुद्ध दिइएको खोपको विरोधी हुन्। केनेडीले खोपले अटिजम निम्त्याउने भन्ने भ्रामक विचारलाई लामो समयदेखि जोड दिँदै आएका छन्।सञ्चारमाध्यमले उनलाई 'खोपविरोधी अभियान्ता'को संज्ञा पनि दिएका छन्।
ट्रम्पले केनेडीको नाम अघि सारेपछि खोप बनाउने कम्पनीहरुको सेयर घटेको छ। मोडर्नाको सेयर बिहीबार ५ प्रतिशतभन्दा बढीले तल झरेको छ । यसैगरी नोभाभ्याक्स ७ प्रतिशतले ओरालो लाग्यो भने फाइजरको सेयर २ प्रतिशले घटेको सञ्चारमाध्यमहरुले जनाएका छन्। कोभिड खोप समेत बनाउने बायोएनटेकको सयेर ७ प्रतिशतले घटेको देखिएको छ।
सिनेटले पनि स्वास्थ्य मन्त्री केनेडीको नाम पारित गरेको बुझिएको छ। अमेरिकी स्वास्थ्य मन्त्रालयले खाद्य तथा औषधि प्रशासनसहित ११ एजेन्सी सम्हाल्ने गरेको छ।
केनेडी जुनियरले एक्समा पोस्ट गर्दै ट्रम्पलाई धन्यवाद दिएका छन् र आफ्नो कार्यकालमा अमेरिकालाई स्वस्थ बनाउने बताएका छन्।